जनता टाइम्स

१७ चैत्र २०८१, आईतवार १९:५०

एमाले सचिवालय बैठकको निर्णय: राजावादीको हिंसात्मक घटनाको निन्दादेखि स्थापना दिवसको विशेष कार्यक्रमसम्म


काठमाडौं, चैत  १७। नेकपा एमालेले राजावादीका नाममा काठमाडौंमा गरिएको हिंसात्मक घटनाको निन्दा गरेको छ ।

आज सम्पन्न पार्टी केन्द्रीय सचिवालयको ४७ औँ बैठकले काठमाडौंका तीनकुने क्षेत्रमा भएको घटनालाई गम्भीर रूपमा लिएको छ ।

‘बैठकले राजावादीका नाममा काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी लगायतका क्षेत्रमा आपराधिक समूहले देखाएको उद्दण्डता, अराजकता, तोडफोड, लुटपाट, हत्या र हिंसाका घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै त्यसको निन्दा तथा भर्त्सना गरेको छ’, बैठक पछि पार्टी महासचिव शंकर पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

शान्तिपूर्ण प्रदर्शनका नाममा सवारी साधनको प्रयोग गरी सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी जानी हिंसा र आतङ्क सिर्जना गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने जस्ता अराजक र आपराधिक क्रियाकलापको छानबिन गरी दोषीउपर तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । नेकपा (एमाले) लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प बैठकले गरेको छ ।

सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन पनि आह्वान गरेको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको अवरोधका कारण प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियामा व्यवधान सिर्जना भइरहेको प्रति बैठकको ध्यानाकर्षण भएको एमालेले जनाएको छ ।

संविधान र कानुनको व्यवस्थाअनुरूपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउनका लागि प्रतिपक्षी दलहरूलाई बैठकले अनुरोध गरेको छ । सरकारी विधेयकलाई संविधान र कानुनको व्यवस्थाअनुरूप सम्पादन गर्ने कर्तव्यतर्फ राष्ट्रिय सभा अध्यक्ष र प्रतिनिधि सभाका सभामुखको ध्यानाकर्षण समेत बैठकले गराएको छ ।

बैठकले आगामी वैशाख ९ गते पार्टी स्थापना दिवसलाई यूथ समिटका रूपमा मनाउने निर्णय गरेको छ । उक्त समिटमा ४० वर्ष मुनिका ६ हजार युवाहरूको सहभागिता रहने महासचिवले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।