जनता टाइम्स

२२ चैत्र २०८१, शुक्रबार १६:०६

प्रधानमन्त्री ओली-मोदी ३५ मिनेट एक्लाएक्लै, मोदीलाई सगरमाथा संवादमा निम्तो


काठमाडौं, २२ चैत्र ।  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्यान्डको राजधानी बैंककमा ३५ मिनेट एक्लाएक्लै वार्ता भएको छ ।

बैंककस्थित उच्च सरकारी स्रोतले दिएको जानकारी अनुसार शुक्रबार मोदी बसेको ओरियन्टल होटलमा भएको भेटमा दुवै पक्षबाट कोही पनि अरु अधिकारी सहभागी भएनन् । ‘नेपाल भारत सम्बन्धका बारेमा दुवै तर्फ विभिन्न अड्कलबाजी चलिरहेकाले त्यसलाई स्पष्ट गर्न पनि दुई नेता छुट्टाछुट्टै बस्नु जरुरी थियो,’ प्रधानमन्त्रीनिकट स्रोतका भन्यो, ‘एक किसिमले भन्दा यसअघि न्युयोर्कमा भेटे पनि आइसब्रेक भइसकेको थिएन । आज त्यसैका लागि दुवै प्रधानमन्त्रीले एक अर्कालाई समय दिनुभएको हो ।’

सेप्टेम्बरमा न्युयोर्कमा भेटेका दुई प्रधानमन्त्रीले बिमस्टेक अवसर पारेर साइडलाइनमा बस्दा दुईपक्षीय हितका थुप्रै विषयमा कुरा भएको छ । भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा गर्नुभएको छ ।

मोदीले नेपाल आउन सक्दो कोसिस गर्ने भन्दै निम्ताका लागि ओलीलाई धन्यवाद दिनुभएको छ । दुई नेताहरुबीच भएको कुराकानीको विस्तृत विवरण आउन बाँकी छ । यद्यपि दुवै देशका विदेशमन्त्रीहरु बैंककमै हुँदा पनि भेटमा सहभागी गराइएन ।भेटवार्ता सकेर प्रधानमन्त्री ओली आफू बसेको होटल सांग्रिलामा फर्केकी सक्नुभएको छ ।