जनता टाइम्स

२२ चैत्र २०८१, शुक्रबार २१:२८

उच्च अदालतको आदेशपछि पक्राउ गर्न रबिको घरमै पुग्यो प्रहरी, गिरफ्तारी दिँन लागेको रबिको दावी


काठमाडौँ, चैत २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी घरमै पुगेको छ । प्रहरी आएपछि लामिछानेले गिरफ्तारी दिन लागेको दाबी गर्नुभएको छ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी र संगठित अपराधमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

 लामिछानेलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरबाट प्रहरी उहाँको घरमा पुगिसकेको छ । प्रहरी आफ्नो घरमा आइसकेपछि लामिछानेले गिरफ्तारी दिन लागेको सामाजिक संजाल फेसबुकमा बताउनु भएको हो ।

‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै, अहिले नै गिरफ्तारी दिँदैछु । साथै न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु,’ लामिछानेले भन्नुभएको छ ।

आफूमाथि अन्याय भएको पनि लामिछानेले बताउनु भएको छ ।’ममाथि ठूलो अन्याय भएको छ,’ लामिछानेले भन्नुभएको छ ।

लामिछानेलाई पक्राउ गर्नका लागि शुक्रबार साँझ प्रहरी घरमै पुगेको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेसँगै लामिछानेलाई पक्राउ गर्न प्रहरी पुगेको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपील बोहोराका अनुसार लामिछानेलाई पक्राउ गर्न प्रहरी उहाँ को घरमा पुगको छ । उच्च अदालतको आदेश आएसँगै लामिछानेलाई पक्राउ गर्न लागिएको प्रहरीले जनाएको छ ।