जनता टाइम्स

२५ चैत्र २०८१, सोमबार ०७:३९

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइदै


काठमाडौं, २५ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सोमबार अदालत उपस्थित गराइदैछ । शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई सोमबार रूपन्देही प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउने छ । लामिछानेलाई कार्यालय समय सुरू भएपछि अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिनुभयो ।

उहाका अनुसार लामिछानेलाई अदालत उपस्थित गराई प्रक्रिया पूरा गरेपछि आजै थुनामा पठाइन्छ । सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याउदै शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो । जिल्ला अदालतले त्यसअघि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश गरेको थियो। उक्त आदेशलाई बदर गरी साधारण तारेखमा छुट्ने आदेशको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिनुभएको थियो । उच्चले जिल्लाको आदेश उल्ट्याएर थुनामा पठाउन भनेपछि शुक्रबार लामिछानेलाई काठमाडौंको हात्तीगौंडास्थित निवासबाट पक्राउ गरी रूपन्देही पठाइएको थियो । शनिबार र आइतबार उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो। दुई दिन बिदा परेकाले बाँकी प्रक्रिया सोमबारदेखि मात्रै सुरू हुने भएको हो ।