काठमाडौं, बैशाख १ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली सभ्यता र पूर्वीय सभ्यता निक्कै पुरानो भएको बताउनुभएको छ ।
नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै भट्टराईले विक्रम संवतको आफ्नै मौलिकता भएको बताउनुभएको छ । यो संवतको आफ्नै सांस्कृतिक महत्त्व भएको भट्टराईले स्पष्ट पार्नुभएको छ । २०८१ साला नेपाली राजनीति र नेपाली समाजमा उतारचढावको वर्ष भएको उहाँले उल्लेख गर्नुभएको छ ।
संस्थागत भएको लोकतान्त्रिक गणतन्त्र र संघीयता माथि अनेक खालका प्रश्न उठाउने काम भएको भट्टराईले बताउनुभएको छ । लोकतान्त्रिक व्यवस्थामा यस्तो प्रश्न उठ्नुलाई नकारात्मक रूपमा लिनु नहुने उहाँले स्पष्ट पार्नुभएको छ ।
जहिले पनि अग्रगमन र पश्चगमन, क्रान्ति र प्रतिक्रान्तिको बिचमा, लोकतन्त्र र निरङ्कुशता, स्वतन्त्रता र दासताको बिच संघर्ष चलिरहने उहाँको धारणा छ । तर हामी कसको पक्षमा उभिने भन्ने कुरा प्रमुख रहेको उहाँले उल्लेख गर्नुभएको छ । ‘मानव जातिले स्वतन्त्रताको पक्षमा उभिनु पर्दछ’, उहाँले भन्नुभएको छ ।
क्रान्तिले प्रतिक्रान्तिलाई पनि सँगै लिएर आउने उहाँको भनाइ छ । क्रान्तिकारीले ठिक ढङ्गले काम गर्न नसक्दा प्रतिक्रान्तिकारीले कहिलेकाहीँ टाउको उठाउन सक्ने उहाँको धारणा छ । क्रान्तिकारी शक्तिको जतिसुकै कमजोरी भए पनि सच्याएर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभएको छ ।
‘प्रतिक्रान्ति कहिल्यै पनि अग्रगमनको पक्षमा हुँदैन, स्वतन्त्रताको पक्षमा हुँदैन, आधुनिकताको पक्षमा हुँदैन, मानव जातिको पक्षमा हुँदैन’, उहाँको भनाइ छ ।
प्रतिक्रान्ति विरुद्धको आन्दोलनलाई अझ प्रभाकारी रूपमा अघि बढाउनु अबको आवश्यकता रहेको उहाँको धारणा छ । क्रान्तिकारीहरू सच्चिँदै नागरिकको बिचमा रहेर पार्टीलाई अझ उन्नत बनाउँदै अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
समाजमा फैलाउन खोजिएका विभिन्न भ्रम चिर्दै २०८२ सालामा अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘समाजको इतिहासको चक्र पछाडि धकेलिँदैन, यो निरन्तर अगाडि बढ्छ’, उहाँले भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्