जनता टाइम्स

५ बैशाख २०८२, शुक्रबार १९:४०

आन्दोलनरत शिक्षकलाई प्रधानमन्त्रीले बोलाउनुभयो छलफलमा


काठमाडौं, ५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिलाई छलफलमा बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ ७ बजे छलफलमा डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दिनभर सडक प्रदर्शनमा रहेका शिक्षक महासंघका पदाधिकारी र आन्दोलन परिचालन समितिका पदाधिकारी बैठकमा जुटेका छन् । आन्दोलनको समीक्षा र थप रणनीति तय गर्न बैठक बसेको आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीले बताउनुभयो ।

बैठकले प्रधानमन्त्रीले बोलाएको बैठकका के-कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि निर्णय लिने शिक्षक महासंघका पदाधिकारीहरुले बताउनुभयो । महासंघका महासचिव तुलाबहादुर थापाले साँझ ७ बजे प्रधानमन्त्री कार्यालयबाट छलफलमा डाकिएको बताउनुभयो। छलफलमा जान्छौं, पहिले सरकारले गरेको सहमतिअनुसार शिक्षकका माग पूरा गर्न भन्छौं, उहाले भन्नुभयो । शिक्षा ऐन जारी गर्न माग राख्दै चैत २० देखि आन्दोलनरत शिक्षक महासंघले यसअघि शिक्षा मन्त्रालयले बोलाएको वार्तामा बस्न अस्वीकार गरेको थियो । शिक्षामन्त्री विद्या भट्टराईसँग छलफल गरेर उनीहरुले २४ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए । शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रको महानिर्देशक कृष्णप्रसाद काप्रीसँग पनि गत साता संवाद भए पनि त्यसको सरकारी पक्ष र आन्दोलनरत शिक्षकबीच औपचारिक संवाद पनि हुन सकेको छैन । शिक्षकले यसपटक वार्ता, संवादभन्दा पनि पूर्वसहमतिअनुसार शिक्षा ऐन जारी हुनुपर्ने माग अघि सार्दै आएका छन् ।