काठमाडौं, १० वैशाख । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा तीनकुनेस्थित घरमा आगजनी गर्ने दुई जनालाई कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।उनीहरूले आगो लगाउँदै गरेको भिडियोसहितका प्रमाण भेटिएपछि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान गरेर बयान लिने काम सुरु भएको हो ।
सोही घरमा पत्रकार सुरेश रजक पनि जलेको अवस्थामा मृत भेटिएका थिए । सोही घरमा आगजनी गरेको आरोपमा एटीएफ (अनवरत तत्पर फौज)का दुई कार्यकर्तालाई प्रहरीले ३१ चैतमा पक्राउ गरेको थियो । पक्राउ परेका रामेछापको सुनापति गाउँपालिका–१ का २२ वर्षीय सरोज गौतम र अछामको पञ्चदेवल नगरपालिका घर भएका २० वर्षीय गोकर्ण शाहीविरुद्ध कर्तव्य ज्यानको कसुरमा पनि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसरका एक अधिकृत बताउँछन् । उनीहरूले १५ चैतमा भएको प्रदर्शनमा प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवनमा आगो लगाएका थिए । गौतम दुर्गा प्रसाईंको नेतृत्वको महाअभियाननै एटीएफका प्रवक्ता हुन् भने शाही सदस्य रहेको बताइएको छ । गौतम तीनकुनेमा भएको प्रदर्शनको बेला प्रसाईंको गाडिमा झुण्डिंदै अघि बढेका थिए ।
शाहीले माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड गर्ने काममा खटिएको देखिएको प्रहरीको भनाइ छ । अन्य ठाउँका तोडफोड र आगजनीमा पनि उनको संलग्नता रहेको प्रहरीको भनाइ छ ।यसका साथै राजावादी प्रदर्शनका जनकमाण्डर तोकिएका प्रसाईंविरुद्ध पनि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।तीनकुने प्रदर्शनमा पक्राउ परेका मध्ये अहिले परिसरको हिरासतमा ६४ जना छन् ।
अहिलेसम्म पक्राउ परेका मध्ये ८५ जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको थियो । उनीहरुमध्ये २१ जनालाई भने हाजिरी जमानीमा रिहा गरेर अनुसन्धान गरिएको छ । तर हाजिरी जमानीमा छाडिएकाहरुलाई मुद्दा भने चलाइने प्रहरीले बताएको छ । प्रसाईंको नेतृत्वमा १५ चैतमा भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो । पत्रकारसहित दुई जनाको मृत्यु भएको तीनकुने घटनाको मुख्य योजनाकार प्रसाईं भारतको आसामबाट २८ चैतमा पक्राउ परेका थिए । २९ चैतमा काठमाडौं ल्याएर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस्