काठमाडौं, वैशाख १६। बुटवल सडकअन्तर्गतको नवलपरासी दाउन्ने खण्डमा सडक विस्तारका लागि आउँदो ३१ गतेसम्म रातमा गाडीको आवागमन बन्द गरिने भएको छ ।
यसअघि हिजोसम्म रातको ११ बजेदेखि बिहान ५ बजेसम्म गाडी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम हुँदै आएको थियो । आजदेखि यसलाई थप गरेर अबका १६ दिन अर्थात् आउँदो वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो ।
नवलरासी ९बर्दघाट सुस्तापूर्व० का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माणकार्य थप केही दिन निरन्तर रहने र रातमा ६ घण्टा आवागमन बन्द हुनेछ ।
दाउन्ने खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी छ । यो कामलाई वर्षाअगावै सम्पन्न गर्नका लागि थप केही दिन आवागमन बन्द गरेर काम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो ।
यात्रु र चालकले निरन्तर सास्ती भोग्दै आएका छन् । अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताउनुभयो ।
नारायणगढ–बुटवल सडकको एक सय १४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढी रहेको क्षेत्र दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ ।
१७ अर्ब रुपैयाँ लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ ।
प्रतिक्रिया दिनुहोस्