जनता टाइम्स

२१ बैशाख २०८२, आईतवार ०९:३२

कक्षा १२ को परीक्षा सुरु, देशभरका १५९१ परीक्षा केन्द्रबाट परीक्षा दिँदै परीक्षार्थी


भक्तपुर, बैशाख २१ । देशभरका परीक्षा केन्द्रबाट एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । बिहान ८ः०० बजेदेखि सुरु भएको परीक्षा ११ः०० बजे चल्नेछ ।

आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा बोर्डले जनाएको छ ।

परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी रहेका छन ।

परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताउनु भयो ।