जनता टाइम्स

२१ बैशाख २०८२, आईतवार १६:३३

मुख्यमन्त्री कार्कीको एकता प्रस्ताव : एकीकृत समाजवादी नेताहरूले बुझाए १३८ बुँदे मागपत्र


मोरङ । कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा आइतबार पुगेका नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरूले १७ वटा विषयमा आधारित १३८ बुँदे मागपत्र बुझाएका छन्। सोही अवसरमा प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पार्टी एकताको प्रस्ताव अघि सारेका छन्।

मागपत्र बुझाउने टोलीमा पूर्वमुख्यमन्त्री तथा उपमहासचिव राजेन्द्र राई, पोलिटब्युरो सदस्यहरू महेश रेग्मी, राजन राई, प्रदेश अध्यक्ष सरिता थापा खड्का लगायत तीन दर्जन नेताहरू सहभागी थिए। औपचारिक कार्यक्रम सकिएपछि अनौपचारिक छलफलका क्रममा मुख्यमन्त्री कार्कीले नेकपा एमाले र एकीकृत समाजवादीलाई “दुई गौरवशाली पार्टीलाई मिलाएर एउटै गौरवशाली पार्टी बनाऔँ” भन्ने प्रस्ताव गरेका हुन्।

यसबारेमा समाजवादी नेताहरूले तत्काल कुनै प्रतिक्रिया जनाएका छैनन्। तर मुख्यमन्त्री कार्कीले उनीहरूले उठाएका अधिकांश माग जायज रहेको भन्दै प्रदेश सरकारको नीति तथा कार्यक्रम तयार पार्ने क्रममा ती सुझावहरू उपयोगी हुने बताएका छन्।

ज्ञापनपत्रमा हाल विवादित गिरीबन्धु टी–स्टेटको जग्गा सम्बन्धी अनियमितता छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न, प्रदेश सरकारको ढिलासुस्ती रोक्न शक्तिशाली संयन्त्र निर्माण गर्न, र फजुल खर्च कटौती गरेर शासन व्यवस्थालाई मितव्ययी बनाउने माग गरिएका छन्।

त्यस्तै, कृषि, पर्यटन, उद्योग, वाणिज्य, स्वास्थ्य, खानेपानी, ऊर्जा, शिक्षा, रोजगारीलगायत १७ विभिन्न क्षेत्रमा सुधारका लागि माग राखिएको छ।

पूर्वमुख्यमन्त्री राईले शान्तिपूर्ण रूपमा मागपत्र बुझाए पनि माग सम्बोधन नभए आन्दोलनमा उत्रन सक्ने चेतावनी दिएका छन्। उनले भने, “हामीले आग्रहपूर्वक माग राखेका छौँ, तर आवश्यक परे सडकमा जान बाध्य हुनेछौँ।”

प्रदेश नामाकरणमा उठेको पहिचानको मुद्दा समाधानका लागि वार्ता गर्नुपर्ने र मुकुम्लुङ (पाथीभरा) केबलकार निर्माणमा देखिएको विवादको समाधान स्थानीय सरोकारवाला पक्षसँग समन्वय गरेर खोज्नुपर्ने समेत मागपत्रमा उल्लेख गरिएको छ।

पार्टी एकताको संकेतसँगै सामाजिक तथा विकाससम्बन्धी गम्भीर मागहरूलाई प्रदेश सरकारले कसरी सम्बोधन गर्छ भन्नेमा अब सबैको ध्यान केन्द्रित हुने देखिन्छ।