जनता टाइम्स

२२ बैशाख २०८२, सोमबार १४:२४

नीति तथा कार्यक्रमलाई फेरि कर्मकाण्डी बनाइयो : प्रचण्डको गम्भीर आलोचना


काठमाडौं, २२ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै बनाएको बताएका छन् ।

यही जेठ १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रम तयारीलाई कर्मकाण्ड बनाइएको बताएका हुन् ।

गत वर्ष नीति तथा कार्यक्रममाथि लोकतान्त्रिक विधिबाट व्यापक छलफल र बहस गरेर अन्तिम रुप दिन खोजिएको भएपनि यस वर्ष सरकारले उक्त प्रक्रिया भत्काएको उनले बताए ।

‘मैले यही सम्मानित संसदमा माननीय सांसदका मतहरुलाइ समेत ध्यानमा राखेर नीति तथा कार्यक्रमको कर्मकाण्डीय परम्परा भत्काउ नखोजेको थिएँ,’उनले भने, ‘सदनमा प्रस्तुत हुने, माननीय सांसदहरुले सुझाव दिने तर ती सुझावहरु नीति तथा कार्यक्रमा समेटिएर परिमार्जन भने नहुने परम्परा अन्त्य गर्नैपर्छ भनेर अध्यादेश नै जारी गरेर पनि बजेट प्रस्तुतीको तीनमहिना अगावै नीति तथा कार्यक्रम सार्वजनिक गरी बजेटको नयाँ क्यालेण्डर जारी गरिएको थियो ।’

उक्त विधिबाट सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा जनप्रतिनिधीहरुको सुझाव समावेश गर्नको लागि पर्याप्त समय उपलव्ध हुने र सांसदहरू सुझावहरु समेटिएर यो परिमार्जन भइसोहीअनुरुप बजेटमा प्रतिबिम्बित हुनसक्ने कुरामा सरकारले वेवास्ता गरेको उनको भनाइ छ ।

‘तर त्यसो गर्दा दुइतिहाइको निरंकुशता लाद्न सकिने थिएन । त्यसैले सरकारले आफ्नो चरित्र देखायो र गतवर्षको प्रावधानलाइ खारेज गरियो,’उनले भने, ‘सरकारसँग संख्याको दम्भ छ, जे गरेपनिहुन्छभन्ने निरंकुशतावादी चिन्तन छ । त्यही भएर नीति तथा कार्यक्रम र बजेटकाबारेमा संसदमा हुने छलफललाई फेरि कर्मकाण्डी बनाइयो । फेरि एउटा औपचारिकतामा यसलाइ प्रस्तुत गरियो । म सच्च्याउन माग गर्दछु ।’