काठमाडौं, २६ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह एक सातादेखि नगरकोटमा बसोबास गर्दै आउनुभएको छ । पूर्वराजा निकट स्रोतका अनुसार उनी वैशाख १५ देखि नगरकोटमा बसोबास गर्दै आउनुभएको छ। उहाँ नगरकोटस्थित सोल्टी वेस्ट इन्ड रिसोर्टमा बसिरहेको पूर्वराजा निकट स्रोतले जनायो । जहाँबाटै उनले राजावादीहरूसँग तारन्तार भेट गरिरहेको खुलेको छ । उहाँले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापासहित राजावादी शीर्ष नेतासँग भेट नगरकोटमै गरेको विश्वस्त स्रोतले जनाएको छ ।
यस्तै दोस्रो तहका राजावादी नेताहरू राजेन्द्र गुरुङ, गुरुङ, शरद राज पाठक, प्रेम बलायर, निरञ्जन थापा, निराजन बमलगायतसँग पनि भेटेका छन् । भेटमा मूलतः राजावादी आन्दोलनका विषयमा कुराकानी भएको बताइएको छ ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पूर्वराजा र कमल थापाबीच केही दिनअघि नगरकोटमा भेट भएको पुष्टि गनुभएको छ । तर, अन्य स्रोतले पूर्वराजाले राजावादी आन्दोलनकै विषयमा केन्द्रित रहेर छलफल गरिरहेको बताइएको छ । सो छलफलमा उहाँले सबै राजावादी समूहलाई नवराज सुवेदी नेतृत्वको आन्दोलनमा गोलबद्ध हुन आग्रह समेत गरेको बताइएको छ ।
यसअघि आफू सुवेदी नेतृत्वको समितिमा नरहेको घोषणा गरेका राप्रपा अध्यक्ष लिङ्देनले समेत उहाको नेतृत्व स्वीकार गर्नुभएको छ। पूर्वराजाकै सक्रियतामा सबै एक ठाउँमा आउने परिस्थिति बनेसँगै बिहीबार नै पत्रकार सम्मेलन गरेर राजावादी समूहले ‘राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन समिति’को संयोजकमा जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ । जुन कार्यक्रममा लिङ्देन, थापासहित राजावादी समूहका सबै हस्तीहरू सहभागी थिए । पूर्वराजा केही समय नगरकोटमै रहने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्