दोलखा, वैशाख २८ । प्रेस चौतारी नेपाल वाग्मती प्रदेश समितिको दोस्रो पूर्ण बैठक दोलखाको जिरीमा सम्पन्न भएको छ ।
प्रेस चौतारी नेपालका वाग्मती प्रदेश अध्यक्ष तिलकराम रिमालको अध्यक्षता तथा संगठनका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको प्रमुख आतिथ्यतामा बैठक भएको हो ।
बैठकमा संगठनका महासचिव हिरामान लामा, सचिव विष्णु तारुके, प्रदेश इन्चार्ज प्रतिमा सिलवाल, नेकपा एमाले वाग्मती प्रदेश उपसचिव तथा प्रचार विभाग प्रमुख भक्तकुमारी लामा, जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकीलगायतको सहभागिता थियो ।
बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको पेसागत हकहित सुरक्षा एवं आगामी रणनीति लगायतका विषयमा ११ बुँदे जिरी घोषणापत्र–२०८२ जारी गरेको छ ।
बैठकले श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक, औषधी उपचार, बिदा, बिमा, उपदानलगायत सामाजिक सुरक्षाको ग्यारेन्टीको माग गर्दै समय सापेक्ष तलब वृद्धिका लागि माग गरेको छ ।
बैठकले सञ्चारकर्मीहरूको सामाजिक सुरक्षा कोषको ग्यारेन्टी गर्न समेत माग गरेको छ । पत्रकार र मिडियामाथिको आक्रमण बढिरहेकाले पेसागत सुरक्षाको ग्यारेण्टी गर्न बैठकले सरकारसमक्ष माग गरेको छ ।
प्रेस चौतारी नेपालको अगुवाइ र पहलकदमीमा श्रमजीवी पत्रकारहरूको हित र पेसागत रक्षाको पक्षमा निर्माण भएका कानुन, नीति, नियम, निर्णयको कार्यान्वयन एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने सङ्कल्प बैठकले गरेको छ ।
बैठकले प्रदेश समितिको वार्षिक कार्ययोजना कार्यान्वयन गर्दै केन्द्रको निर्देशन बमोजिम २०८२ साललाई प्रशिक्षण वर्षको रूपमा सफल बनाउन चौतारीनिकट सञ्चारकर्मीहरूका लागि वैचारिक, सांगठनिक र पेसागत क्षमता अभिवृद्धि तालिम तथा प्रशिक्षण सञ्चालन गर्ने घोषणा गरेको छ ।
बैठक प्रेस चौतारी नेपाल, बागमती प्रदेशको आफ्नै भवन निर्माणका गर्नका लागि संगठनलाई जग्गा उपलब्ध गराउन नेकपा एमाले मकवानपुर जिल्ला कमिटी, विभिन्न सरकारी तथा गैह्रसरकारी संघ संस्था तथा महानुभावहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
वर्तमान सरकारले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र समृद्धिको पक्षमा गरिरहेको कामको दृढतापूर्वक समर्थन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार, मिडिया हितको पक्षमा अग्रणी संगठनको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रण बैठकले गरेको छ । ‘समृद्ध नेपाल: सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्ने अभियानमा आम सञ्चार क्षेत्रबाट अधिकतम् योगदान गर्ने सङ्कल्प पनि बैठकले गरेको छ ।
बैठकले नेपाल सरकारले संसदमा दर्ता गरेको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्न बनेको विधेयक आवश्यक, समयानुकूल र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको ठहर गर्दै पत्रकारहरूको हित र पेसागत रक्षाको पक्षमा निर्माण भएका कानुन, नीति, नियम, निर्णयको कार्यान्वयन एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने सङ्कल्प गरेको छ ।
बैठकले बैठक श्रमजीवी पत्रकारहरू आफैँले सञ्चालन गरेका स्वरोजगार मिडियाको संरक्षण र प्रवर्धनका लागि समानुपातिक विज्ञापन नीति र स्थानीय स्तरका विज्ञापन तथा सूचना स्थानीय सञ्चारमाध्यमलाई नै उपलब्ध गराउने कानुनी प्रबन्ध गर्न माग गरेको छ । साथै अनलाइन सञ्चारमाध्यमहरूलाई पनि लोककल्याणकारी विज्ञापन सहितका सरकारी सूचना तथा विज्ञापन प्रकाशित गर्ने व्यवस्था गर्न बैठकले माग गरेको छ ।
बैठकले वाग्मती प्रदेश सरकार र स्थानीय तहको आगामी आर्थिक वर्ष २०८२-०८३ को नीति, कार्यक्रम तथा बजेट सञ्चारमैत्री बनाउन माग गरेको छ ।
जिरी नगरपालिका पर्यटकीय सम्भावना बोकेको नगरपालिका रहेकाले पर्यटकीय र धार्मिक क्षेत्रको विकास गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारलाई आग्रह गर्दै प्रेस चौतारी नेपाल, वाग्मती प्रदेशभित्र रहेका चौतारीकर्मीलाई पर्यटकीय गन्तव्यको प्रचारप्रसार, प्रवर्द्धन गर्नका लागि बैठकले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्