जनता टाइम्स

३० बैशाख २०८२, मंगलवार १५:२५

जनतामा आशा जगाउन कांग्रेस-एमाले मिलेका हौं, प्रधानमन्त्रीसँग प्रचण्डले फोटो खिच्दैमा गठबन्धनमा कुनै असर पर्दैन : गृहमन्त्री लेखक


विराटनगर, बैशाख ३० । गृहमन्त्री रमेश लेखकले गठबन्धनका बीचमा कुनै खटपट नभएको र खटपट ल्याउने कुनै पनि प्रयाशले काम नगर्ने बटमलाइन सुनाउनु भएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर माओवादी अध्यक्ष प्रचण्डले फोटो खिच्दैमा गठबन्धनका असर पर्यो कि भन्ने अफवाहको अुनै अर्थ नरहेको पनि प्रष्ट पार्नुभएको छ । विराटनगरमा सुरक्षा वैठकमा सहभागी हुन आउनु भएका गृहमन्त्री लेखकले जनतामा छाएको चरम निराशा चिरेर आशाको किरण छर्नका लागि दुई ठूला दल मिलेको कारण साना मसिना कुरा देखाएर गठबन्धनमा तलमाथि होला कि भन्ने भ्रम नपाल्न सुझाउ दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एमाले र काँग्रेस बीचको सहमतिको आधारमा यो गठबन्धन पूर्ण कार्यकाल चल्नेछ । जनतामा आशा जगाउन दुई ठूदा दल कांग्रेस र एमाले मिलेका हौं, प्रधानमन्त्रीसँग प्रचण्डले फोटो खिच्दैमा गठबन्धनमा कुनै असर पर्दैन ।’ गृहमन्त्री लेखकले यो सरकार मुलुकमा व्याप्त निराशालाई चिरेर आशाको किरण दिन गठन भएको बताउनु भयो । ‘हाम्रो सरकार आशा दिने उद्देश्यले स्थापित भएको हो, र यसले जनतालाई आशा जगाइरहेको छ,’ उहाँले भन्नुभयो ।

गृहमन्त्री लेखकले पछिल्लो समय भइरहेको राजावादी गतिविधिबारे भने कडा चेतावनी दिनुभयो । संविधान र वर्तमान व्यवस्था विरुद्धका कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्दै उहाँले संबिधानको दायरा नाघे नराम्रो परिणाम भोग्नुपर्ने बताउनु भयो । नेपाली जनताले संघीयता, लोकतन्त्र र गणतन्त्र जस्ता उत्कृष्ट व्यवस्था स्थापित गर्न दिएको त्याग र बलिदान गरेकाले यो व्यवस्था परिवर्तन नहुने उहाँले बताउनु भयो ।

‘धेरै नेपालीको बलिदानबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने र निरंकुशतातिर लैजाने कुनै प्रयास हामी सहन गर्ने छैनौ’, उनले भने अब देश फेरि निरंकुशतातिर लान लागि जनताले पनि चाँहदैनन,’ गृहमन्त्री लेखकको भनाई थियो । गृहमन्त्रीले आजै विराटनगर भन्सार क्षेत्रमा रहेको आपतकालीन गोदामघर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुभयो ।

गृहमन्त्री लेखकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई चाबी प्रदान गरी गोदाम घर हस्तान्तरण गर्नुभएको हो । विराटनगर भन्सार कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले गोदाम घर हस्तान्तरण मात्र नभई संघीयताको कार्यान्वयनका लागि समेत यो कदम उठाइएको बताउनु भयो ।

उहाँले संघीय सरकार संघीयता कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै विपद् व्यवस्थापनमा सहकार्य गरिरहेको जानकारी दिनुभयो । गृहमन्त्री लेखकले चाँडै नै शिक्षा विधेयक, निजामती विधेयक, नेपाल प्रहरीसम्बन्धी विधेयकहरू पास गरेर संघीयताको कार्यान्वयनलाई अघि बढाउने तयारी भइरहेको जानकारी पनि दिनुभएको छ ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अहिलेको सरकार गठन भएपछिमात्रै प्रदेशलाई अधिकार हस्तान्तरण हुने प्रक्रिया सुरु भएको बताउनु भयो ।मुख्यमन्त्री कार्कीले प्रदेश सरकार संवैधानिक र कानूनीरूपमा अघि बढिरहेको भन्दै कतिपय कर्मचारीको साँघुरो सोच र ज्ञानको अभावले समस्या भएको अनुभुति सुनाउनु भयो ।