जनता टाइम्स

३१ बैशाख २०८२, बुधबार १०:०३

केपी ओलीको जनसंगठनलाई निर्देशन : सामाजिक सञ्जालमा ताल न सुरका पिपिरी बाजा बजाउनेलाई जवाफ दिनुस् 


काठमाडौं, ३१ बैशाख । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले विरुद्ध चौतर्फी आक्रमण भइरहेको बताउनुभएको छ ।

गत फागुनदेखि बैशाखसम्म महाधिवेशन गरेका जनसंगठनका पदाधिकारीहरूलाई संयुक्त रूपमा बधाई दिन आयोजित कार्यक्रममा बोल्दै ओली चारैतिरबाट सरकार र  पार्टीका विरुद्ध भइरहेका हमलाको प्रतिवाद गर्न जनसंगठन क्रियाशील हुनुपर्ने बताउनुभयो । एमाले र नेतृत्वका विरुद्ध सञ्चालित सम्पूर्ण अफवाहलाई लोकतन्त्रप्रतिको निष्ठाले नै जवाफ दिइरहेको ओलीले बताउनुभयो । ‘हाम्रो लोकतन्त्रप्रतिको निष्ठामा कसैले प्रश्न नगरे हुन्छ’, ओलीले भन्नुभयो ।

ओलीले जनसंगठन सक्रिय रूपमा लागेमा देश एमालेमय हुन धेरै समय नलाग्ने बताउनुभयो ।  ‘५५ वर्ष अघि विभिन्न विचार समूहलाई एक गठ बनाएर एमालेको जग बसाइएको हो, अहिले एमाले फैलिएर जहाँ नेपाली त्यहाँ एमाले भन्ने अवस्थामा पुगेको छ’, उहाँले भन्नुभयो ।

जनसंगठनहरुलाई समय सापेक्ष रूपमा अघि बढाउनु पर्ने उहाँको धारणा छ । ओलीले संगठन भित्र गुटबन्दी र बेठिक प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने बताउनुभयो ।

कुनै बेला जनसंगठनहरुलाई पिरामिड आकारमा बनाउने कि नबनाउने भन्ने विषयमा पार्टीभित्रै सङ्घर्ष गर्नुपरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले जनसंगठन अहिले एमालेका कार्यकर्ता उत्पादन गर्ने  कारखानाका रूपमा रहेका बताउनुभयो । जनसंगठनहरु प्रायोजित होइन, प्रयोजन सहितका बनाउन उहाँले आग्रह गर्नुभयो । ‘बिचारमा प्रतिबद्ध र अनुशासनमा कठोर बन्नुस्, कार्यकर्तालाई हप्काउने,थर्काउने र रुखो बचन बोल्ने काम नगर्नुहोस्, यस्तो व्यवहारबाट संगठनप्रति नयाँ मानिसको आकर्षण बढ्दैन, तपाईँहरूले साथी बनाउने, साथी बढाउने र साथी कायम राख्ने काम गर्नुस्’, ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा पिपिरीका बाजा बजाउनेले फैलाएका भ्रम चिर्न पनि जनसंगठन सक्रिय भएर लाग्नु पर्ने बताउनुभयो । ‘सामाजिक सञ्जालमा ताल र सुरु बिनाका पिपिरी बाजा बजाउनेहरूलाई जवाफ दिनुहोस्, जनसंगठनको यति ठुलो पंक्ती एक पटक सक्रिय हुने हो भने विरोधीहरू आफैँ हराउँछन्’, उहाँले भन्नुभयो ।

मंगलबार साँझ बालुवाटारमा भएको कार्यक्रममा नेकपा एमाले जनसंगठन समन्वयका प्रमुख भानुभक्त ढकाल सहित १० वटा जनसंगठनका इञ्चार्ज र निवर्तमान अध्यक्षको पनि सहभागिता थियो ।