जनता टाइम्स

३१ बैशाख २०८२, बुधबार ११:३२

साउदी अरबमा काम गर्न गएका ४६९ नेपाली युवा अलपत्र परे : महेश बर्तौला 


काठमाडौं । प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा काम गर्न गएका नेपालीहरू अलपत्र परेको विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा बाेल्दै बर्तौलाले ४ सय ६९ जना नेपाली कामदार काम गर्ने कम्पनी बन्द हुँदा उनीहरू अलपत्र परेका बताउनुभयो । ‘त्यो कम्पनीमा काम गर्दाको २ महिना देखि ९ महिनासम्मको तलब नेपाली कामदारले पाएका छैनन्’, उहाँले भन्नुभयो ।

यस विषयमा व्यवस्थापनसँग पटक पटक अनुरोध गर्दा पनि उनीहरूले आफ्नो पारिश्रमिक नपाएका उहाँले बताउनुभयो । उनीहरू अहिले अहिले एउटा क्यापमा बसेका र खानपिनमा समेत समस्या भएको बर्तौलाको भनाइ छ । त्यहाँ बस्ने नेपालीको म्याद सकिएको कारण बाहिर निस्कन समेत नपाएको उहाँले जानकारी गराउनुभयो ।

साउदी अरब सरकारले केही समयको लागि बहिर्गमन भिसा बन्द गरेको कारण उनीहरूलाई नेपाल फर्कन समेत समस्या भएको उहाँले बताउनुभयो । ती मध्य २ सय ४३ जना युवाले त्यहीँ अर्को कम्पनीमा काम गर्न पाए काम गर्ने भनेर आवेदन गरेका भए पनि उनीहरूले काम गर्न नपाएको बर्तौलाले सुनाउनुभयो ।