काठमाडौं, ३१ बैशाख। प्रतिनिधि सभा सदस्य पदम गिरीले सरकार देशको अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा निक्कै गम्भीर रहेको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथिको छलफलमा बोल्दै गिरीले सरकाले समस्याको गहिराइसम्म पुगेर त्यसलाई छाम्ने कोसिस गरेको बताउनुभयो । अहिलेको देशको चित्र र चरित्र प्रति सरकार निक्कै संवेदनशीले भएको उहाँको भनाइ छ । ‘सरकार विगतको इतिहासको निरन्तरता होइन, ब्रेक थ्रु गरेर नयाँ बाटोमा हिँड्न प्रयास गरेको जस्तो मैले पाएको छु’, उहाँले भन्नुभयो ।
संकटमा रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार गम्भीर रहेको गिरीले बताउनुभयो । बैङ्कमा लगानीयोग्य पुँजी थुप्रिएको भए पनि त्यसको उत्पादनका क्षेत्रमा प्रवाह हुन नसकेको उहाँको भनाइ छ । गाउँका युवाको देश भित्रै उत्पादनमा होइन, विदेश दौडने तयारीमा रहेको अवस्था विद्यमान रहेको गिरीले बताउनुभयो ।
लोक रिज्याईँ र सबैलाई खुसी पार्ने गरी बजेट ल्याएर अब देश नबन्ने उहाँले बताउनुभयो । बिना पूर्वतयारीका र लागानीका ढाँचा नभएका क्षेत्रमा बजेट विनियोजन गर्दा बजेट नै खर्च नहुने र भए पनि प्रतिफल नदिने गिरीको धारणा छ ।
विना योजनाको बजेटले सामाजिक असमानता हटाउन नसकेको र गरिब जनताको जीवनस्तर उकास्न नसकेको उहाँले बताउनुभयो । अहिलेको सरकारका विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले यी कुरालाई खोतल्ने प्रयास गरेको गिरीको धारणा छ ।
सरकाले लागत र लागतको दृष्टिकोणले हेरेर लाभ र लागतको दृष्टिकोणले उपयुक्त योजनालाई प्राथमिकता दिएको भन्दै उहाँले त्यसको स्वागत गर्नुभयो । बजेट निर्माणको बेलमा पनि दबाब र प्रभावमा नपरी यही बाटोमा अघि बढ्न उहाँले सरकारलाई सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्