जनता टाइम्स

३ जेष्ठ २०८२, शनिबार ०५:२५

मदन भण्डारीलाई सम्झँदा


जको पुस्ता मोबाइल मिडिया र सामाजिक सञ्जाल युगमा हुर्किएको पुस्ता हो । तिनलाई केवल भाषणले होइन, संवाद, तर्क, तथ्य र प्रेरणाबाट प्रस्ट्याउन सकिन्छ । त्यसैले मदन भण्डारीको विचारलाई पुरानो भाषाशैलीमा होइन, युवा–मैत्री र नवप्रविधियुक्त प्रचार शैलीमा प्रस्तुत गर्न सक्नु हाम्रो मुख्य कार्य हो । आजको पुस्ता प्रविधिमा समर्पित, सूचना–सघन, विश्व-संलग्न र प्रश्नशील छ । यस्तो अवस्थामा जवज सिद्धान्तलाई नयाँ शैलीमा प्रस्तुत गर्न आवश्यक छ ।

सञ्जय थापा

नेपाली वाम तथा प्रजातान्त्रिक आन्दोलनको इतिहास गहिरो, जटिल र सङ्घर्षपूर्ण रहँदै आएको छ । यो संघर्षको दौरान लामो इतिहासमा केही व्यक्ति यस्ता उदाएका छन, जसले केवल राजनीति होइन, जनताको मन जिते, संगठनलाई दिशा दिए अनि युग नै बदल्ने विचार दिए ।

यिनैमध्ये एक अविस्मरणीय व्यक्तित्व हुनुहुन्छ जननेता मदनकुमार भण्डारी, जस्ले बिश्वमा कम्युनिष्ट आन्दोलन धरासायी बनेको बेला नेपालबाट नयाँ मोड दिने काम गर्नुभयो जनताको बहुदलीय जनवाद (जवज) मार्फत । मदनलाई सम्झनु भनेको कुनै एक नेताको जीवनी दोहोर्याउनु मात्र होइन, विचारको मार्गचित्र सम्झनु हो, जसले नेपालको वाम आन्दोलनलाई राष्ट्रिय राजनीतिमा केन्द्रबिन्दु बनायो ।

जवज : नेपाली माटोको सिद्धान्त

जब नेपाल २०४६ सालपछि बहुदलीय प्रजातन्त्रमा प्रवेश गर्यो, वाम आन्दोलनभित्र ठूला प्रश्नहरू उठे, ‘के बहुदलीय व्यवस्थाबाट समाजवाद सम्भव छ ?’ मदन भण्डारीले जवजमार्फत सशक्त जवाफ दिनुभयो–सम्भव छ र आवश्यक पनि छ । बहुल समाजमा प्रतिस्पर्धात्मक बहुदलीय प्रणालीभित्र समावेशी समाजवाद निर्माण गर्न सकिन्छ भन्ने दृढ विश्वासमा आधारित छ जवज । सन २०४६ को जनआन्दोलनपछि नेपाल बहुदलीय लोकतन्त्रमा प्रवेश गर्यो । तर वाम आन्दोलन भने बहस र अन्योलको दोबाटोमा थियो । यही दोधारमा मदन भण्डारीले नेपाली समाजको यथार्थ बुझेर प्रतिपादन गर्नुभएको हो जनताको बहुदलीय जनवाद ।

नेपाली राजनीतिमा केही विचारहरू यस्ता छन, जसले केवल तत्कालीन समयमा होइन, भविष्यलाई समेत मार्गदर्शन गर्न सकेका छन । यिनैमध्ये एक हो मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जवज) । यो विचारले केवल वाम आन्दोलनलाई वैचारिक स्पष्टता मात्र दिएन, नेपालजस्तो बहुल समाजलाई लोकतन्त्र र समाजवादको संयोजनमार्फत अघि बढ्ने मार्ग देखायो ।जवजले भन्यो–नेपाली समाज बहुल जातीय, भाषिक, धार्मिक र सांस्कृतिक संरचनामा आधारित छ ।

यस्तो समाजमा एकदलीय अधिनायकवादले होइन, प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थाबाट समाजवाद सम्भव हुन्छ । लोकतन्त्रलाई आत्मसात गर्दै समाजवादमा पुग्ने यो मौलिक बाटो नेपाली सन्दर्भमा यथार्थपरक र व्यवहारिक सिद्ध भईरहेको छ । जवज न त सोभियत शैलीको अन्धानुकरण थियो, न त चिनियाँ मार्गको नक्कल । यो विचार नेपाली माटोमा उब्जिएको नेपाली जनताको दुःख, पीडा, संघर्ष र आकांक्षाको उपज हो ।

व्यवहारमा मदन भण्डारी

मदन भण्डारी विचारमा जति गहिरा हुनुहुन्थ्यो, व्यवहारमा उति नै सरल । सादा जीवन, उच्च अनि सशक्त विचार र आत्मीय भाषा शैलीले उहाँ जनताको मन जित्न सफल हुनुभयो । गाउँघरका भुइँ तहका कार्यकर्तासँग उहाँ सँगसँगै हिँड्नुहुन्थ्यो, बोल्नुहुन्थ्यो र बुझ्नुहुन्थ्यो । उहाँका भाषणहरू जटिल सिद्धान्तको दोहोरो होइन, जनजीवनको भाषा र व्यवहारको प्रतिविम्ब हुन्थे । उहाँको यही शैलीले नै कम्युनिस्ट आन्दोलनलाई युवा पुस्तामा लोकप्रिय बनायो । उहाँकै नेतृत्वमा पार्टीले २०४९ सालमा जनताको बहुदलीय जनवादलाई पार्टीको औपचारिक कार्यक्रम बनायो । त्यसपछि नै एमालेले राष्ट्रिय राजनीतिमा उल्लेखनीय उचाइ लियो ।

एमालेमा रूपान्तरण र प्रगति

जवजको सिद्धान्त एमालेको वैचारिक मेरुदण्ड बन्न गयो । यसको प्रभावमा पार्टीले नारा होइन, नीति र विचारको आधारमा जनतालाई विश्वास दिलायो । परिणामस्वरूप २०४८ सालदेखि आजसम्म एमालेले देशका अधिकांश निर्वाचनमा उल्लेखनीय समर्थन पाउँदै आएको छ । स्थानीय तहदेखि केन्द्रसम्म पार्टीको जनाधार सुदृढ बन्दै गएको छ । पार्टीको संगठनात्मक संरचना, नीति निर्माण प्रक्रिया र नेतृत्व चयन प्रणालीमा संस्थागत अभ्यास कायम गरिएको छ जसले पारदर्शीता र जवाफदेहिता बढाएको छ । यही कारणले गर्दा एमाले देशकै सबैभन्दा सङ्गठित र नीति केन्द्रित दलका रूपमा स्थापित हुन सफल भएको छ ।

जवजले एमालेलाई वैचारिक स्पष्टता र संगठनात्मक गहिराइ दियो । २०४८ को संसदीय निर्वाचनपछि एमाले प्रमुख प्रतिपक्षी दल बन्यो । पार्टी संसदमा मात्र होइन, जनतामाझ पनि बलियो भयो । यसको श्रेय संगठनात्मक रूपान्तरणसँगै वैचारिक स्पष्टतालाई जान्छ । एमालेले जवजलाई व्यवहारमा उतार्दै लोकतान्त्रिक प्रक्रिया अपनायो, चुनावमा भाग लियो, प्रतिपक्षको भूमिका निभायो र पछि सरकारको नेतृत्व गर्यो । संविधान निर्माणदेखि गणतन्त्र स्थापनासम्म एमालेको प्रभावशाली भूमिका देखियो, जसको जग मदन भण्डारीकै बाटो थियो ।

जवजको अभ्यास र जनमानसमा पर्न गएको प्रभाव

मदन भण्डारीको निधनपछि पनि जवज एमालेको वैचारिक मेरुदण्ड हो । यही सिद्धान्तअनुसार पार्टीले व्यवहार र नीतिमा रूपान्तरण ल्याउँदै देशको प्रमुख शक्तिका रूपमा आफूलाई स्थापित गर्यो । त्यसले जनजीवनमा प्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पारेको छ ।

भौतिक पूर्वाधारमा विकास 
एमाले नेतृत्वको सरकारले ग्रामीण सडक, पुल, जलविद्युत, खानेपानी, कृषि सिँचाइजस्ता पूर्वाधार निर्माणमा प्राथमिकता दियो । यसले ग्रामीण र दुर्गम क्षेत्रका जनतालाई विकासको मूलधारमा ल्यायो ।

सामाजिक सुरक्षा विस्तार

वृद्धबृद्धा, महिला, अपांगता, बालबालिका, दलित समुदायलगायतका वर्गलाई लक्षित भत्ता कार्यक्रम र सामाजिक सुरक्षाका योजना प्रभावकारी रूपमा लागू गरियो । यसले राज्यप्रतिको जनताको विश्वास गहिरो बनायो ।

संघीयता र स्थानीय शासन सुदृढीकरण

संविधान कार्यान्वयन र संघीय ढाँचाको अभ्यासमा एमाले नेतृत्व निर्णायक रह्यो । स्थानीय तहलाई अधिकारसम्पन्न बनाउँदै जनता मैत्री शासन सुदृढ गरियो ।

 शिक्षा र स्वास्थ्यमा सुधार

निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति, विद्यालय सुधार कार्यक्रम, आधारभूत स्वास्थ्य सेवा प्रवाहमा सशक्त कदम चालियो । यसले सीमान्तकृत वर्गका बालबालिका र नागरिकलाई शिक्षित र सुरक्षित बनायो ।

मदन भण्डारीप्रति साँचो श्रद्धाञ्जली तब मात्र हुनेछ, जब हामी मदन भण्डारीले प्रतिपादन गर्नुभएको दर्शनलाई नवीन सन्दर्भमा प्रयोग गर्ने साहश राख्नेछौं । उहाँले देखाएको बाटोमा हिँड्न तयार हुनेछौं । यो काम गर्दा मात्र हामी भन्न सक्छौं–हामीले मदन भण्डारीलाई साँच्चै सम्झियौं । हामी सवैले आजको दिन यत्ति काम गर्ने अठोटसहित अघि बढौं र भनौं–जनताका नायक जननेता मदन भण्डारी र कसुल संगठन जीवराज आश्रितप्रति भावपुर्ण श्रद्धाञ्जली !

नीति–केन्द्रित राजनीति र जनविश्वास

एमालेले क्रान्तिपछि राज्यसत्ता सम्हाल्ने जिम्मेवारी पूरा गर्दै आफूलाई ‘विकास र स्थायित्वको दल’ का रूपमा प्रस्तुत गर्यो । सत्तामा हुँदा विकास–प्रगतिको नेतृत्व र विपक्षमा हुँदा जिम्मेवार आलोचक बन्ने संस्कारबाट जनविश्वास थप मजुद बनेको छ । एमालेले अहिले पनि पार्टीको मूल विचारका रूपमा जवजलाई आत्मसात गरिरहेको छ । समकालीन चुनौतीहरूसँग जुध्न सक्ने विचार शक्ति र जनअपेक्षा पूरा गर्न सक्ने कार्यशैली पार्टीमा विकास भएको छ । राजनीति केवल नारा होइन, जनताप्रति उत्तरदायित्व हो भन्ने बोध पार्टीको चरित्रमा देखिएको छ ।

असमयको वियोग र अमर योगदान

आजभन्दा ३२ बर्षअघि आजकै दिन अर्थात २०५० सालको जेठ ३ गते दासढुंगा दुर्घटनामा जननेता मदनको रहस्यमय निधन भयो । उहाँसँगै कुसल संगठन जीवराज आश्रितको पनि निधन भयो । मदनको वियोग केवल एक नेताको निधन मात्रै थिएन, एक विचारशील, भिजनरी नेतृत्व गुमाउनु थियो । तर उहाँको विचार, मार्गदर्शन र दृष्टिकोण भने अझ सजीव बनेर रहेको छ ।

आजको सन्दर्भमा मदन किन सान्दर्भिक ?

मदन भण्डारी एउटा उदाहरण हुनुहुन्छ । उहाँले

– कसरी वैचारिक सैद्धान्तिकता र व्यावहारिक लोकतन्त्र सँगसँगै अघि बढ्न सक्छ ।

– कसरी नेतृत्वमा विचारको गहिराइ र व्यवहारको सरलता मिल्न सक्छ।

– कसरी संगठनमा पद्धति र अनुशासनलाई जोड्न सकिन्छ भन्ने सरल व्याख्या गरेका छन ।

अबको दायित्व-मदन भण्डारीको विचारलाई पुस्तान्तर

मदन भण्डारीको दर्शन केवल एउटा कालखण्डको माग होईन, त्यो आजको आवश्यकताको पनि मेरुदण्ड हो । उहाँले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद (जवज) ले देशको राजनीतिक यात्रालाई स्थायित्व र लोकतान्त्रिक समाजवादको सन्तुलनमा राखेको छ । तर अहिलेको सन्दर्भमा हाम्रो जिम्मेवारी यहाँ मात्र सीमित छैन–हामीले यो सिद्धान्तलाई नयाँ पुस्तामा नयाँ शैलीमा पुर्याउनु पर्ने चुनौती सामना गरिरहेका छौं ।

आजको पुस्ता मोबाइल मिडिया र सामाजिक सञ्जाल युगमा हुर्किएको पुस्ता हो । तिनलाई केवल भाषणले होइन, संवाद, तर्क, तथ्य र प्रेरणाबाट प्रस्ट्याउन सकिन्छ । त्यसैले मदन भण्डारीको विचारलाई पुरानो भाषाशैलीमा होइन, युवा–मैत्री र नवप्रविधियुक्त प्रचार शैलीमा प्रस्तुत गर्न सक्नु हाम्रो मुख्य कार्य हो । आजको पुस्ता प्रविधिमा समर्पित, सूचना–सघन, विश्व–संलग्न र प्रश्नशील छ । यस्तो अवस्थामा जवज सिद्धान्तलाई नयाँ शैलीमा प्रस्तुत गर्न आवश्यक छ ।

– डिजिटल प्लेटफर्महरू: युट्युब, पोडकास्ट, एनिमेसन र इन्फोग्राफिक्समार्फत जवजको सार बुझाउने ।

– शिक्षा र बहस कार्यक्रमहरू : विद्यालय, क्याम्पसस्तरमा विचार बहस, लेख प्रतियोगिता र प्रशिक्षण कक्षा ।

– स्मृति केन्द्र र शोध संस्था : मदन भण्डारी विचार अध्ययन तथा स्मृति प्रतिष्ठानहरू स्थापना, सजीव ऐतिहासिक अध्ययनको अवसर ।

– नेतृत्व विकास अभियान : नवयुवालाई जवज सिद्धान्तमा प्रशिक्षित गरेर भावी नेतृत्व तयार पार्ने ।

– सामाजिक संजाल–केन्द्रित अभियान : छोटो भिडियो, इन्फोग्राफिक्स, डिजिटल पुस्तकहरू । सामाजिक संजाल–केन्द्रित अभियान ।

यी कदमले विचार संरक्षित मात्र होइन–सक्रिय र जीवन्त रूपमा पुस्तान्तरण हुन्छ । यी उपायहरूले विचारलाई मात्र जोगाउँदैन, यसलाई जनमानसमा सक्रिय बनाउँछ–नयाँ पुस्ताको चेतनामा घोलेर भविष्यको नेतृत्व निर्माण गर्न मद्दत गर्छ । मदन भण्डारीको योगदान एउटा इतिहास होइन, वर्तमान र भविष्यको समेत हो । उहाँको सिद्धान्तले देशलाई राजनीतिक दिशा दियो, समाजलाई रूपान्तरणको बाटो दियो र जनतालाई लोकतन्त्रभित्र समाजवाद सम्भव छ भन्ने आत्मबिश्वास दियो । यस अमूल्य वैचारिक सम्पदालाई केवल संरक्षित गर्नु मात्र होइन, यसलाई नयाँ युगअनुसार पुनब्र्याख्या, पुनर्प्रस्तुति र प्रचार गर्न सक्नु हो । त्यसबेला मात्र हामी भन्न सक्नेछौं, हामीले मदन भण्डारीलाई सम्झिने मात्रै होइन, उहाँको सपना साकार गर्ने यात्रामा लागेका छौं ।

निष्कर्ष

आज एमालेको उचाइ, संगठनको सुदृढता, विकाशप्रतिको प्रतिबद्धता र जनविश्वासको पुनः स्थापित रूप छन, यी सबै मदन भण्डारीको सिद्धान्त, दृष्टि र सपना साकार हुँदै गइरहेको प्रमाण हुन । उहाँको अगुवाइमा प्रतिपादित जवज कुनै सैद्धान्तिक दस्तावेज मात्र होइन, आजको नेपालको अग्रगामी यात्राको दिशानिर्देश पनि हो । त्यसैले एमालेको आजको स्थायित्व र सफलता केवल एक संगठनको उन्नति होइन, यो नेपाली समाजमा विचार र व्यवहारको सन्तुलनमार्फत प्रगतिशील परिवर्तन सम्भव छ भन्ने उदाहरण हो । मदन भण्डारीको विचार, एमालेको अभ्यास र नेपालको समृद्धि अब छुट्टै विषय होइनन, एउटै मार्गको निरन्तर यात्रा हुन ।

आजको दिन मदन भण्डारीलाई सम्झनु भनेको उहाँका फोटोमा माला चढाउनु मात्र होइन, उहाँको विचारलाई व्यवहारमा उतार्नु हो । हामी आज फेरि जवजलाई बुझ्न, बहश गर्न र नविकरण गर्न तयार भएनौं भने हामीले उहाँलाई केवल सम्झिने बहाना मात्रै बनाएका हुनेछौं । मदन भण्डारीलाई सम्झनु भनेको उहाँको बाटोमा हिँड्नु हो, उहाँको सिद्धान्तलाई पुस्तान्तर गर्दै, देश र जनताको बीचमा त्यसलाई जीवन्त राख्नु हो ।

मदन भण्डारीप्रति साँचो श्रद्धाञ्जली तब मात्र हुनेछ, जब हामी मदन भण्डारीले प्रतिपादन गर्नुभएको दर्शनलाई नवीन सन्दर्भमा प्रयोग गर्ने साहश राख्नेछौं । उहाँले देखाएको बाटोमा हिँड्न तयार हुनेछौं । यो काम गर्दा मात्र हामी भन्न सक्छौं–हामीले मदन भण्डारीलाई साँच्चै सम्झियौं । हामी सवैले आजको दिन यत्ति काम गर्ने अठोटसहित अघि बढौं र भनौं–जनताका नायक जननेता मदन भण्डारी र कसुल संगठन जीवराज आश्रितप्रति भावपुर्ण श्रद्धाञ्जली ।

(लेखक थापा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष हुनुहुन्छ–सं)