काठमाडौं, ३ जेठ । रुस र युक्रेनबीच टर्किएको राजधानी इस्तानबुलमा वार्ता भएको छ । दुई देशबीच युद्ध शुरू भएको झन्डै तीन वर्षपछि रुस र युक्रेनका अधिकारीबीच आपसी छलफल भएको हो ।
यो वार्ता सकारात्मक भएको दुवै पक्षले जनाएका छन् । वार्तामा रुस र युक्रेनले एक/एक हजार युद्धबन्दी रिहा गर्ने सहमतिसमेत गरेका छन् ।
वार्तापछि युक्रेनका रक्षामन्त्री रुस्तम उमेरोभले यो सहमति अनुसार एक–एक हजार युद्धबन्दीलाई रिहा गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।
त्यस्तै रुसको वार्ता टोलीको नेतृत्व गर्नुभएका भ्यादिमिर मेडिन्स्कीले हिजोको वार्ताबाट आफूहरु सन्तुष्ट रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले रुस आउँदा दिनमा हुने वार्ताका लागि पनि तयार रहेको बताउनुभयो ।
युक्रेनी पक्षले दुई देशका राष्ट्रपतिबीच सोझै छलफल हुनुपर्ने शर्त राखेको थियो । रुस र युक्रेनबीचको वार्ताका लागि टर्किएले मध्यस्थता गरेको हो ।
यसअघि यो वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहभागी हुने भनिएको थियो तर अन्तिम समयमा उहाँहरु उपस्थित हुनुभएन ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नै शान्ति वार्ताका लागि प्रस्ताव गरेपछि दुई देशबीच युद्ध रोकिने आशा जगाएको थियो ।
सन् २०२२ को फेब्रुअरी २४ तारिखमा रुसले युक्रेनमाथि आक्रमण शुरू गरेको थियो । पछिल्लो ३ वर्षमा रुस–युक्रेन युद्धमा हजारौं सेना र सर्वसाधारण मारिएका छन् ।
प्रतिक्रिया दिनुहोस्