जनता टाइम्स

१४ असार २०८२, शनिबार १९:५८

इजरायलसँगको युद्धमा मारिएका झन्डै ६० जनाको राजकीय सम्मानका साथ अन्तिम संस्कार


काठमाडौं, १४ साउन ।
इरानको राजधानी तेहरानमा इजरायलसँगको १२ दिने युद्धमा मारिएका सैन्य कमाण्डर र परमाणु वैज्ञानिकहरूसहित झन्डै ६० जनाको राजकीय सम्मानका साथ अन्तिम संस्कार भइरहेको छ । तेहरानको एन्घेलाब स्क्वायरनजिकै इरानी झन्डाले ओढाइएका कमान्डरहरूको तस्बिरसहितका शव बाकस मानिसहरूको भीडले घेरिएका देखिन्छन् ।

यही हप्ताको शुरुमा इरानका प्रमुख परमाणु ठाउँहरुमा बम विस्फोट गराएर अमेरिका प्रत्यक्ष रूपमा संलग्न भएपछि युद्धविराम भएको थियो । राजकीय अन्तिम संस्कार हुनेमा इरानका सर्वोच्च पदका सैन्य अधिकारी मोहम्मद बघेरी समेत हुनुहुन्छ । जो इरानको सशस्त्र सेनाको चीफ अफ स्टाफ हुनुहुन्थ्यो । बघेरीलाई उहाँकी श्रीमती र छोरीसँगै समाधिस्थल लगिँदैछ ।

यस्तै तेहरानको आजाद विश्वविद्यालयका प्रमुख मोहम्मद महदी तेहरानची लगायत कैयौँ आणविक वैज्ञानिकहरूको पनि अन्तिम संस्कार हुँदैछ । इजरायलको आक्रमणमा छ सय २७ जनाको ज्यान गएको इरानी प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इरानको आक्रमणमा इजरायलमा २८ जनाको ज्यान गएको छ । यसैबीच इरानका विदेशमन्त्री सैयद अब्बास अरागचीले सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईका बारेमा अनादरपूर्ण टिप्पणी नगर्न अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पलाई चेतावनी दिनुभएको छ । ट्रम्पले अहिले पनि खामेनेई कहाँ छन् भन्ने जानकारी रहेको र उनी नरहने अवस्था ल्याउन सक्ने चेतावनी दिनुभएको थियो ।