काठमाडौं, कात्तिक १७ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आज त्रिविको १९ औं उपकुलपतिमा बाँस्कोटालाई नियुक्त गर्ने निर्णय गर्नुभएको हो ।
त्रिबिको उपकुलपतिमा सिफारिशमा पर्नुभएको अर्का डाक्टर भगवान कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेसँगै प्रधानमन्त्री तथा कुलपति ओलीले बाँस्कोटालाई बित्रिको उपकुलपति नियुक्त गर्नुभएको हो । ‘बास्कोटालाई उपकुलपति नियुक्ति गर्ने निर्णय भयो, सोमबार नियुक्ति पत्र बुझेर पदवहाली हुन्छ,’ प्रधानमन्त्रीका एक सल्लाहकारले जनताटाइम्ससँग भने । बाँस्कोटा नाक, कान, घाँटीका विशेषज्ञ चिकित्सक हुनुहुन्छ । बाँस्कोटाले नेपाल मेडिकल काउन्सिलका अध्यक्षबाट हालै अवकाश पाउनुभएको थियो । काउन्सिलमा रहँदा अब्बल क्षमता देखाउनु भएको कारण बाँस्कोटालाई त्रिबिको उपकुलपतिमा नियुक्त गरिएको हो ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बनेको उपकुलपतिको नाम सिफारिश समितिले बाँस्कोटाको नाम दुई नम्बरमा सिफारिस गरेको थियो । एक नम्बरमा नाम सिफारिस गरिएका डा. भगवान कोइरालालाई काउन्सिल अध्यक्षमा नियुक्त भएपछि स्वभाविक दावेदारका रुपमा बाँस्कोटा उपकुलपति हुनुभएको हो । सिफारिस समितिले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको नाम समेत तेस्रो नम्बरमा सिफारिस गरेको थियो । योग्यतम ब्यक्तिलाई उपकुलपति बनाउने प्रधानमन्त्रीको योजनाअनुसार भगवान कोइरालालाई मेडिकल काउन्सिल र बाँस्कोटालाई त्रिबिको उपकुलपति बनाइएको हो ।
प्रतिक्रिया दिनुहोस्