काठमाडौं, ३ जेठ। नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीका नेताले कार्यकर्ताको समस्या बुझ्न सक्नुपर्ने बताउनुभएको छ ।
नेकपा एमाले संघीय निर्वाचन क्षेत्र नं २ बर्दियाको व्यवस्थापन तथा जिल्ला स्कुल विभाग बर्दियाको आयोजनामा बर्दियाको ठाकुरबारामा आयोजित क्षेत्रीय प्रशिक्षक प्रशिक्षण तालिममा बोल्दै ढुङ्गेलले नेताले कार्यकर्ताको समस्या बुझेर समाधानको उपाय सुझाउनु पर्नेमा जोड दिनुभयो । ‘जसले कार्यकर्ताको व्यवहार बुझ्न सक्दैन, अनुहार पढ्न सक्दैन ऊ नेता नै हुन सक्दैन, पार्टीको नेता भएपछि अन्तर्विरोधलाई राम्रोसँग बुझ्ने हुन सक्नु पर्छ’, उहाँले भन्नुभयो ।
नेता बन्नको लागि दुःख प्रति सहयोग भाव हुन आवश्यक रहेको ढुङ्गेलको धारणा छ । ‘कार्यकर्ताको भाव बुझ्न सक्ने, संवेदनलाई बुझ्ने नेतृत्व आवश्यक छ’, उहाँले भन्नुभयो ।

मदन भण्डारी कार्यकर्ताको समस्या बुझ्न सक्ने, विश्व कम्युनिष्ट आन्दोलनलाई बुझ्न सक्ने नेता भएको उहाँले सुनाउनुभयो । ती सबै भावलाई बुझेर उहाँले नेपाली परिवेश सुहाउँदो जनताको बहुदलीय जनवादी विचार अघि सार्नु भएको ढुङ्गेलको भनाइ छ ।
जेठ १ गतेबाट सुरु भएको तीन दिने प्रशिक्षण कार्यक्रममा तालिमका सहभागीलाई पार्टीका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली, संगठन विभाग सचिव माधव ढुङ्गेल, पार्टीका नेताहरू लक्ष्मण ज्ञवाली, टीका बस्नेत, घनश्याम कोइराला, सुन्दर लामिछाने, विक्रम खनाल लगायतले प्रशिक्षण दिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्