जनता टाइम्स

४ जेष्ठ २०८२, आईतवार १४:५५

रबि र छविको सुनुवाइ रोकियो, यस्तो छ कारण


पोखरा, बैशाख ४ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गोर्खा मिडियाका प्रबन्ध निर्देशक रबि लामिछाने र उपाध्यक्ष छबिलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्धाको सुनुवाई रोकिएको छ ।

रास्वपा सभापति लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई पेशीको जानकारी दिने गरी गरिएको पत्रमा हस्ताक्षर नभएपछि उच्च अदालत पोखरामा सुनुवाइ स्थगित गरिएको हो । उच्च अदातलले पेशीको जानकारी दिन शुक्रबार कारागार कार्यालय रुपन्देहीलाई पत्र लेखेको थियो ।

तर, कारागार कार्यालयले आइतबार पत्र लेख्दै रवि र छविको हस्ताक्षर नभएको उल्लेख गरेको थियो । सोही पत्रका आधारमा उच्च अदालतले आजको पेशी स्थगित गरेको हो । उच्च अदालतका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको संयुक्त इजलाशले पेशीको जानकारी नहुनुको कारणबारे खुलाउन कारागार कार्यालय रुपन्देहीलाई पत्र लेख्न आदेश दिएको छ ।

उक्त पत्रमा पेशीको जानकारी गराइएको पत्र बुझ्न इन्कार गरेको वा अन्य कारण हस्ताक्षर नभएको हो ? सोही व्यहोराको प्रतिवेदनसहितको जानकारी गराउनसमेत अदालतले कारागार प्रशासनलाई आदेश दिएको छ ।

अदालतले २०८० असोज १८ गते जिल्ला अदालत कास्कीमा दायर भएको सहकारी ठगीसम्बन्धी मुद्दाको अभियोगपत्रसहितको सक्कल मिसिल र २०८१ पुस ५ गते दायर भएको थप अभियोगको अभियोगपत्र सहितको सक्कल मिसिल झिकाउन पनि आदेश दिएको छ ।