काठमाडौं । सिन्धुपाल्चोक–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा छ ।
टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएसँगै उहाँको प्रतिनिधि सभा सदस्य पद निलम्बनमा परेको छ ।
बस्नेतसँगै दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र अन्य कम्पनीविरुद्ध मुद्दा दायर भएको छ । अख्तियारले बस्नेत सहित १६ जनासँगै जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १ सय ८२ रुपैँया बिगो दाबी गरेको छ ।
यस्तो अवस्थामा नैतिक रूपमा लाज हुनु पर्ने हो । कसैले औपचारिक कार्यक्रममा बोलाउँदा पनि आफैँ पछि हट्नु पर्ने ओ । अदालतले अन्तिम फैसला नदिँदासम्म बस्नेको सार्वजनिक जीवन नै निलम्बनमा छ । भोलि दोषी वा निर्दोष अदालतले फैसला गर्ने नै छ । तर फैसला नहुँदासम्म बस्ने आरोपी हो ।
भ्रष्टाचार जस्तो गम्भीर आरोपमा अदालतमा मुद्दा दर्ता हुँदा पनि बस्नेतको भने दम्भ घटेको छैन । भ्रष्टाचारको आरोप बोकिरहेको बेला बस्नेत सबै विधि, पद्धति, नैतिक आचरणलाई मिचेर बस्नेत सिन्धुपाल्चोकको ठोकर्पा स्वास्थ्य चौकी उद्घाटन गर्न तम्सिनु भएको छ ।
बस्नेतले स्वास्थ्य चौकी उद्घाटन गर्ने गरी कार्यक्रमको प्रचार प्रसार गरिएको छ । भ्रष्टाचारको मुद्दा लागेको व्यक्तिलाई प्रमुख अतिथि बनाएर सार्वजनिक कार्यक्रम गर्न लागेको भन्दै नेकपा एमाले र माओवादी केन्द्रका सुनकोसी गाउँपालिका कमिटीले विज्ञप्ति नै निकालेर आपत्ति जनाएका छन् ।
दुई दलले संयुक्त रूपमा निकालेको विज्ञप्तिमा सहरी विकास तथा भवन डिभिजन कार्यालय चौताराद्वारा निर्माण सम्पन्न भएको ठोकर्पा स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रम प्रतिनिधिसभाका निलम्बित सांसद मोहन बहादुर बस्नेतबाट गरिने तयारी भएको सूचना विभिन्न स्रोत तथा सामाजिक सञ्जाल मार्फत प्राप्त भएको उल्लेख छ । यस विषयमा सुनकोशी गाउँपालिकामा सक्रिय प्रमुख दुई राजनीतिक दल नेकपा एमाले र माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
पूर्व मन्त्री बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स उपकरण खरिद प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरिसकेको र सोही मुद्दाको सिलसिलामा प्रतिनिधि सभा सदस्यको पद स्वतः निलम्बनमा परिसकेको कानुनी अवस्था रहेको दुई दलले स्पष्ट पारेका छन् । ‘जबसम्म उक्त मुद्दाको अन्तिम निर्णय हुँदैन, उनी विरुद्ध अदालतमा दर्ता भएको मुद्दाको आधारमा अभियुक्त नै रहने छन्, यस अवस्थाको व्यक्ति सरकारी भवनको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा सहभागी हुने विषय एकातिर गम्भीर कानुनी उल्लङ्घन हो भने अर्कोतर्फ सार्वजनिक संस्थाको गरिमा र विधिसम्मत प्रक्रिया माथि ठाडो हस्तक्षेप हो’, दुई दलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य सेवा जस्तो अत्यन्तै संवेदनशील तथा प्रत्यक्ष रूपमा आम नागरिकको जीवनसँग सम्बन्धित क्षेत्रको पूर्वाधार उद्घाटन कार्यमा भ्रष्टाचार मुद्दाका अभियुक्तको रूपमा रहेको व्यक्तिको सहभागिता हुनु अमर्यादित र अस्वीकार्य विषय भएको दुई दलले प्रष्ट पारेका छन् । सहरी विकास तथा भवन डिभिजन कार्यालयले निर्माण सम्पन्न गरिसकेको स्वास्थ्य चौकी भवन गाउँपालिका कार्यालयलाई औपचारिक रूपमा हस्तान्तरण नभई सकेको अवस्थामा उद्घाटन कार्यक्रम तय गर्नु आफैँमा विधि, प्रक्रिया र स्थानीय स्वायत्तताको उलङ्घन र अपमान भएको दुई दलले स्पष्ट पारेका छन् ।
दुई राजनीतिक दलले ठोकर्पा स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रम तत्काल स्थगित गर्न र सो भवन गाउँपालिका कार्यालयलाई विधि र प्रक्रिया अनुरूप हस्तान्तरण गरी गाउँपालिकाकै संयोजन तथा नेतृत्वमा उद्घाटन कार्यक्रम तय गर्न सबै पक्षसँग ध्यानाकर्षण गराएका छन् । एमाले र माओवादीले सार्वजनिक सम्पत्तिको संरक्षण, नागरिक सेवाप्रतिको सम्मान र विधिको शासनप्रति प्रतिबद्ध रहन आह्वान समेत गरेका छन् ।
उता सुनकोशी गाउँपालिकाले पनि विज्ञप्ति जारी गरी उक्त स्वास्थ्य चौकी भवनको उद्घाटन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलबाट गरिने मौखिक सहमति गरिएको स्पष्ट पारेको छ । सोही सहमतिको कार्यान्वयन स्वरूप कार्यक्रम व्यवस्थापनका लागि १ लाख रुपैयाँ पेस्की समेत उपलब्ध गराइएकोमा पछिल्लो केही दिन यता सामाजिक सञ्जालहरूमा उक्त भवनको उद्घाटन पूर्व स्वास्थ्य मन्त्री तथा हाल विशेष अदालतमा भ्रष्टाचार मुद्दाका अभियुक्त रहेका मोहनबहादुर बस्नेतबाट गरिने तयारीको प्रचार प्रसार भइरहेको पाइएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स उपकरण खरिद प्रकरण सम्बन्धी अनियमितता गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको कार्यालयले स्पष्ट पारेको छ । सोही सन्दर्भमा गाउँपालिका भित्र सक्रिय प्रमुख राजनीतिक दलहरूले समेत गम्भीर आपत्ति जनाउँदै अदालतमा मुद्दा दर्ता भइसकेका अभियुक्तका रूपमा रहेका व्यक्तिबाट स्वास्थ्य संस्थाको उद्घाटन नगर्न माग गर्दै संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरिसकेका प्रति गाउँपालिकाले ध्यानाकर्षण गराएको छ ।
गाउँपालिकाको सहमति र समन्वयबिना कुनै पनि व्यक्ति वा संस्थाबाट सो भवनको उद्घाटनको प्रयास गर्नु संविधान, प्रचलित कानुन तथा स्थानीय स्वायत्तताको गम्भीर उलङ्घन भएको गाउँपालिकाले स्पष्ट पारेको छ । गाउँपालिकाले अदालतमा मुद्दा दर्ता भएका अभियुक्तलाई भवन उद्घाटनको काम नगर्न नगराउन आग्रह गरेको छ । गाउँपालिकाको अनुमति बिना उद्घाटन कार्य जबरजस्ती अगाडि बढाइएमा, त्यसबाट उत्पन्न हुने सबै प्रकारका कानुनी, प्रशासनिक तथा अन्य जटिलताको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति वा संस्थाले वहन गर्नुपर्ने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्