जनता टाइम्स

५ जेष्ठ २०८२, सोमबार ११:१३

हिमाली क्षेत्रका जोखिमयुक्त वस्ति स्थानान्तरणकाे योजना बनाउन आवश्यक : शंकर पोखरेल 


काठमाडौं, ५ जेठ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले हिमाली क्षेत्रका बस्तीको सुरक्षामा ढिलाइ गर्न नहुने बताउनुभएको छ ।

हुम्लामा पहिरोले पुर्‍याएको क्षति पछि सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै पोखरेलले हिमाली क्षेत्रका जोखिमपूर्ण बस्तीलाई तत्काल सुरक्षित स्थानमा हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पार्न सक्ने प्रभावको विषयमा नेपालमा सगरमाथा संवाद चलिरहेको बेला हुम्लाको नम्खामा आएको बाढी पहिरोले बस्तीमा क्षति पुर्‍याएपछि पोखरेलले त्यस्तो प्रतिक्रिया जनाउनुभएको हो ।

नाम्खामा आएको पहिरोले धेरै मानिसहरू घरबार विहीन भएका भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । ‘जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको र पर्न सक्ने असरका बारेमा सगरमाथा संवाद चलिरहेका बलामा हुम्ला जिल्लाका नाम्खावासी पहिरोको कारणले घरबार विहीन बन्न पुगेका छन्’, पोखरेलले लेख्नु भएको छ ।

हिमाली क्षेत्रको जोखिमयुक्त बस्ती पहिचान गरी सुरक्षित स्थानमा हस्तान्तरण गर्नुपर्ने उहाँको सुझाव छ । ‘अब ढिलो नगरी हिमाली क्षेत्रका जोखिमयुक्त वस्तिहरूको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरणका लागि योजना बनाउनु आवश्यक छ, त्यसका लागि सुरक्षित क्षेत्र पहिचान गरेर वन क्षेत्र र संरक्षण क्षेत्रबाट अलग गरी सुरक्षित वस्ति विकासको योजना अघि बढाउनु पर्दछ’, पोखरेलको सुझाव छ ।