जनता टाइम्स

१० जेष्ठ २०८२, शनिबार ११:५६

पर्यटकीय गन्तव्यको थलो बन्दै रामेछापको खाँडादेवी मन्दिर 


नवराज पथिक 

रामेछाप, १० जेठ । रामेछापको ऐतिहासिक धार्मिक शक्तिपीठ खाँडादेवी मन्दिर आकर्षक पर्यटकीय गन्तव्यको थलो बन्दै गएको छ ।

शान्त वातावरण, प्राकृतिक सुन्दरता, सफा मन्दिर क्षेत्र, डाँडाको टुप्पोमा सधैँ चिसो हावा चल्ने खाँडादेवी साँच्चिकै तपोभूमि छ । जस्तोसुकै तनाव र चिन्ता लिएर जानेले पनि मन्दिरमा पुगेपछि त्यहाँको रमणीय वातावरणले अनन्दको अनुभूति गर्ने गर्दछन् ।

खाँडादेवी गाउँपालिका–२ मा रहेको खाँडादेवी मन्दिर रामेछापको ऐतिहासिक, धार्मिक शक्तिपीठ मानिन्छ । सोही मन्दिरकै नामबाट गाउँपालिकाको नाम नै खाँडादेवी गाउँपालिका रहेको छ । खाँडादेवी विश्वास राख्दै नेपालमा गुड्ने धेरै सवारी साधनहरूले समेत आफ्ना साधनमा खाँडादेवी माइले रक्षा गरुन् भनेर लेखेको पाइन्छ ।

खाँडादेवी मन्दिरलाई व्यवस्थित गर्न खाँडादेवी विकास कोषले काम गर्दै आएको छ । कोषले पूजा व्यवस्थापन, मन्दिरको संरक्षण, वातावरणीय सरसफाइ, पर्यावरणीय सुरक्षा तथा सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आएको छ । कोषले मन्दिरमा बली पूजा लिएर आउनेबाट उठेको शुल्क, मन्दिरमा चढाएको दक्षिणा तथा सहयोगीहरूले गरेको सहयोग र दानबाट सबै व्यवस्थापन गर्दै आएको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ बताउनुहुन्छ । खाँडादेवी विकास कोषले २०७० सालदेखि मन्दिर व्यवस्थापनको काम गर्दै आएको छ ।

खाँडादेवी मन्दिरलाई पौराणिक मन्दिर मानिन्छ । यसको व्याख्या देवी भागवत महापुराणमा पनि गरिएको बाबा मुक्तिनाथ तिवारी बताउनुहुन्छ ।

यसै गरी शिवपुराणको हिमवत खण्डमा पनि खाँडादेवीको महिमा चर्चा गरिएको छ । तथ्य र प्रमाणका आधारमा पनि यो मन्दिर निक्कै पुरानो पुरातात्विक महत्त्व राख्ने मन्दिर हो । मन्दिर विसं १५७३ मा चढाइएको घण्ट तथा त्यस अघि चढाएको चाँदीका जन्तर लगायतका गहना अहिले पनि सुरक्षित छन् । त्यति बेला दरबारले चढाएको सुन र चाँदीको जन्तर पनि यो मन्दिरको पुरातत्त्व झल्काउने आधारहरू हुन् ।  त्यसैले पुरातत्त्व विभाग मार्फत पुरातत्त्व नखलबलिने गरी मन्दिरको पुनर्निर्माण तथा मन्दिर परिसरमा संरचना निर्माणको काम भएको छ ।

नेपाल एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढी पछि खाँडादेवीमा सहायक गढीका रूपमा किल्ला बनाएका र सो लडाइँ जित्न पृथ्वीनारायण शाहले खाँडादेवीसँग आशीर्वाद लिएको जनश्रुति छ । युद्ध जितेपछि खाँडादेवीको शिला दरबार लैजान तीन पटकसम्म प्रयास गर्दा पनि बाटोबाटै अलप भएर खाँडादेवीमा नै आएपछि पृथ्वीनारायण शाहले त्यही बेलादेखि खाँडादेवीमा रहेको कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका बलि दिनु भनी आदेश दिनुभएको र बडादशैँमा सो बलि दिने गरिएको बताइन्छ ।

राज्यबाट पठाइँदै आएको पूजा खर्च विसं २००९ सालबाट रोकियो । सरकारको तर्फबाट पठाइने पूजा खर्च रोकिएपछि दरबारमा पूजाको निरन्तरताको लागि बिन्तीपत्र पनि पठाइयो, तर कुनै सुनुवाइ भएन । त्यस पछि पुजारीहरूले आफैँले खर्च उठाएर सो पूजा धान्दै आएकामा अहिले खाँडादेवी विकास कोषले सो सबै काम गर्दै आएको छ ।

दरबारबाट मन्दिरमा पूजा खर्च आउँदासम्म बडादेशैँको नवमीको दिन मन्दिरमा गरेको चतुर्थी होमको तिलक र पाती दरबारमा पठाइन्थ्यो । दोलखाको भीमसेनस्थानाट आउनेले खाँडादेवीको तिलक र पाती लिएर जाने र त्यहाँबाट दोलखा भीमसेन र खाँडादेवीको तिलक पाती दरबार पठाउने चलन थियो । २००९ सालपछि त्यो प्रचलन रोकिएको पुजारीहरू बताउँछन् ।

खाँडादेवीको उत्पत्तिको कथा  निक्कै रोचक छ । खाँडादेवीलाई दरबारकी रानी भनिन्छ । त्यसैले खाँडादेवीलाई खाँडादेवी महारानी भनेर पुकारिन्छ ।

रामेछापको गेलुका सनमान पहरी र दुमना पहरीको कोखबाट जन्मिएकी सुन्दरी कन्या सुकमायालाई राजाले रानी बनाउन दरबार लगेकामा दरबारमा बस्न नरुचाएपछि घर फर्काइदिने क्रममा खाँडादेवीमा आएपछि ती कन्या मानिसबाट अलप भएर तीतेपातीको छाप्रो हाली बसेको किंवदन्ती छ । पछि त्यही स्थानमा शिला फेला परेको भनाइ छ ।

दशैँको फूलपातीको दिन गेलुका पहरी समुदायले खाँडादेवीलाई केरा, उखु, अदुवाको बोट, माछा, छोकडा, जिर्मा, छ्याङ, राँगा, बोका, कुखुरा, हाँस, परेवा तथा कुमारीको सामग्रीहरू ऐना चुरा, धागो, सिन्दूर, टिका चढाउने चलन छ । जसलाई माइती भित्र्याउने भनिन्छ । पहरीहरूले खाँडादेवीलाई आफ्नी चेली मान्छन् ।

शिवपुराणको हिमवत खण्डमा उल्लेख भए अनुसार रोशमत (रोशी खोला) र (सुवर्ण कौशिका) सुनकोशी नदीको सङ्गम कुशेश्वरमा देवीले वृतासुरको वध गरी दुर्गा नदीमा खड्ग पखालेर खाँडादेवीमा खड्ग गाडी कालिन्चोकमा अन्तर्ध्यान भएको उल्लेख छ ।

खाँडादेवीमा दर्शन गर्न अहिले जिल्ला सदरमुकाम मन्थलीबाट र काठमाडौंबाट सित्खा पुल तरेर सोझै मन्दिरसम्म यातायात साधनबाट नै जान सकिन्छ । मन्थली वा काठमाठमाडौं आउँदा मन्दिरको मुनि माकादुमसम्म पिच सडक नै छ । मुख्य सडक छाडेर मन्दिर उक्लिने बाटो भने केही अप्ठेरो छ । सो सडक पनि पिच वा ढलान गर्नुपर्ने दर्शनार्थीहरुको माग रहेको छ ।

अहिले मन्दिरमा दर्शन गर्न देशभरिका साथै भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् । यसले यस मन्दिरको महत्त्व थप बढेको छ । मन्दिरमा दर्शन गर्न दैनिक गाडी रिजर्भ गरेर मानिसहरू आउने गर्दछन् । त्यसैले खाँडादेवी जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको थलो बन्दै गएको छ ।