जनता टाइम्स

१० जेष्ठ २०८२, शनिबार १९:१६

देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था आवश्यक : प्रचण्ड


काठमाडौं, १० जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली आवश्यक रहेको बताउनुभएको छ ।पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ अन्तर्गत आज पोखरामा आयोजना गरिएको सभामा उनले कार्यकारी राष्ट्रपतिका लागि जनतालाई प्रशिक्षित र परिचालित गर्न पनि अभियान सञ्चालन गरिएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो , ‘संविधानसभाबाट संविधान बनाउँदा नै यसले स्थिरता र आर्थिक समृद्धि ठीक ढङ्गले हासिल गर्न सक्दैन भनेका थियौँ । हाल गणतन्त्र एक प्रकारको र निर्वाचन प्रणाली तथा शासकीयस्वरूप अर्को ढङ्गको भएको छ । अब कार्यकारी राष्ट्रपतीय शासन व्यवस्थाबारे जनतालाई प्रशिक्षित गर्नु आवश्यक छ ।’ उहाँले संविधान निर्माणका बेला प्रत्यक्ष निर्वाचित कार्यकारी भने पनि आफ्नै अडानमा बस्दा संविधान नबन्ने देखिएकाले ‘नोट अफ डिसेन्ट’सहित अडान छाडेको स्मरण गरे । अध्यक्ष दाहालले आगामी निर्वाचनमा माओवादी पहिलो दल बन्ने आधार तयार भएको बताउनुभयो ।

‘देशको स्थायित्व र सुशासनका लागि माओवादीले नै पहल र रूपान्तरणको अभियान छेड्नुपर्दछ भनेर लागिपरेका छौँ । रूपान्तरणको अभियान नेतृत्वबाट सुरु गरिएको छ, सबैले आत्मसमीक्षा गर्नुहोला’, उहाँले भन्नुभयो , ‘समाजवादी क्रान्तिको आधार तयार गरेर लैजाने सपनासहित जनजागरण अभियान अघि बढाइएको छ । समाजवादउन्मुख राज्य व्यवस्था परिकल्पना गरिए पनि संविधानमा यसबारे स्पष्टता नभएकाले यसबारे बुझाउन पनि जनतासँग सम्पर्क बढाएका छौँ ।’ कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीले उठाएका सामाजिक न्याय र आर्थिक समृद्धि तथा सुशासनका मुद्दालाई जनताबीच लैजान आग्रह गर्नुभयो । महासचिव देव गुरुङले माओवादी नेतृत्वको सपना र दृष्टिकोणअनुसार निर्माण सुरु भएको मध्यपहाडी लोकमार्गको बाँकी काम छिट्टै पूरा गर्नका लागि सरकारलाई दबाब दिइने बताउनुभयो ।