काठमाडौं, १० जेठ । एउटै आमाको कोखबाट जन्मिएको पनि होइन । अनि एउटै आमाको दूध चुसेको पनि होइन । प्रधानमन्त्री केपी शर्मा ओली र राममाया रानाभाट बिच कोख र दूधको सम्बन्धको त के कुरा गाउँ र पानी ढलाउको पनि कुनै सम्बन्ध छैन ।
कताको तेह्रथुममा जन्मिएर झापामा हुर्किनु भएका केपी ओली, कताको पोखराकी राममाया रानाभाट । दुई बिच रगतको कुनै नाता छैन । तर उहाँहरू बिचका सम्बन्ध एउटै आमाको कोखबाट जन्मिएको भन्दा पनि प्रगाढ छ । माया एउटै आमाको लाम्टो चुसेको भन्दा पनि गहिरो छ । एउटै कोखबाट नजन्मिएर के भयो, एउटै आमाको दूध नचुसेर के भयो, सम्बन्ध यी दुवै भन्दा पनि गाढा छ । माया ममता र नाता त्यो भन्दा पनि धेरै निकट छ ।
८३ वर्षकी राममाया दिदीको भातृ स्नेह र देशकै कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीको राममाया दिदी प्रतिको प्रेम भावले उहाँहरूको सम्बन्धलाई नाताको परिभाषा भन्दा धेरै माथि उठाएको छ । त्यसैले पोखरा गएको बेला केपी ओली भरसक राममाया दिदीलाई भेट्न बिर्सनु हुन्न, अनि भाइ पोखरा आएको छ भन्ने थाहा पाएपछि राममाया दिदी पनि कम प्रफुल्लित हुनुहुन्न ।
राममाया र केपी ओलीको दिदी–भाइको सम्बन्ध केपी ओली जेलमा परेको बेलाबाट जोडिएको हो । त्यस पछिको उहाँहरूको सम्बन्ध अझ बलियो बन्दै गएको छ, भावनात्मक रूपमा झन् प्रगाढ बन्दै गएको छ । पञ्चायतकालमा जेलमा परेको, त्यो पनि राजनीतिक बन्दी । राजनीतिक बन्दी केपी ओलीलाई पोखरा जेलमा खाना लिएर भेट्न आउनुहुन्थ्यो राममाया दिदी । कम्ताको आँट र साहस थिएन त्यस बेला राममाया दिदीको । आस्थाको बन्दिलाई भेट्न जाँदा उहाँ आफैँ पनि जेल पर्न सक्नु हुन्थ्यो । तर उहाँलाई त्यसको कुनै परवाह थिएन ।
पञ्चायती कालमा ओलीलाई बिना अभियोग काठमाडौंको नक्खु जेल राखिएको थियो । उहाँलाई काठमाडौंको नख्खु जेलबाट २०३९ साल माघ ३ गते पोखरा जेल सारियो । अभियोग केही थिएन । शान्ति सुरक्षा खलल पार्ने आशङ्का भनिएको थियो । केपी ओली तीन वर्षसम्म पोखरा जेलमा बस्नु भयो । ‘राममाया दिदी मलाई कहिलेकाहीँ खाना लिएर भेट्न आउनुहुन्थ्यो, उहाँ मलाई बाबु भनेर सम्बोधन गर्नुहुन्छ’, ओली विगत र वर्तमान सम्झनु हुन्छ ।
त्यही जेलमा खाना लिएर भेट्न जाँदा अति स्वादिलो मानेर खाने बाबु आज देशको सर्वोच्च कार्यकारी प्रधानमन्त्रीको सिटमा हुनुहुन्छ । तर दिदी–भाइ बिचको सम्बन्ध त्यस्तै छ । माया र स्नेह उस्तै छ । त्यो दृश्य शुक्रबार पनि पोखरामा फेरि दोहोरियो । प्रधानमन्त्री केपी ओली र राममाया दिदी बिच भेटघाट भयो । दिदी–भाइ बिच प्रेम र स्नेह साटासाट भयो ।
दिदी भाइको स्नेहको अगाडि अरू सबै पर्खालहरू टुटे । केवल पोखरा महानगरपालिका–१६ दीपकी ८३ वर्षीय राममा दिदी र अनि त्यही पोखरा जेलमा खाना लिएर जाँदा खुसी हुने भाइ केपी ओलीको मात्र नाता कायम रह्यो । ‘आज पोखरा जाँदा उहाँसँग भेट भयो, सञ्चो, बिसञ्चो कुराकानी भयो, यसअघि पोखरा जाँदा पनि भेटेको थिएँ, राममाया दिदीसँग भेटेर खुसी लागेको छ’, उहाँसँग भेटेपछि प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्