जनता टाइम्स

११ जेष्ठ २०८२, आईतवार १५:३६

कोशी प्रदेश सरकार : विद्यमान समस्या समाधान गर्दै, महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै 


काठमाडौं, ११ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको यस पटकको नीति तथा कार्यक्रम आर्थिक उन्नति र आन्तरिक आय बढाउने कुरामा केन्द्रित रहेको बताउनुभएको छ ।

आइतबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नीति कार्यक्रमले सहअस्तित्व, सहकार्य र एकतालाई जोड दिएको बताउनुभयो ।  नीति कार्यक्रमले दोस्रो आवधिक योजनाको लक्ष्य र प्रदेश सरकारले लिएको दीर्घकालीन लक्ष्यलाई समेटेको उहाँले सुनाउनुभयो ।

मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको सात बुँदे समझदारी अनुसार बनेको सरकारले सातवटा मूलभूत समस्याको समाधान गर्न सुरु गरेको उहाँले बताउनुभयो ।  मुख्यमन्त्री कार्कीले विद्यमान समस्या समाधान गर्दै  सरकारले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गर्नुभयो । ‘१० महिनाको अन्तरालमा बिग्रिएको आर्थिक अवस्था ट्र्याकमा ल्याउनु मात्रै होइन, निर्यात प्रवर्द्धनजस्ता क्षेत्रहरूमा पनि उल्लेखनीय सफलता हासिल भएको छ’, उहाँले भन्नुभयो ।

कार्कीले नीति र कार्यक्रम विकासको मार्गदर्शन र बजेट त्यसको कार्यान्वयनका लागि साधन भएको बताउनुभयो । पछिल्ला आठ वर्षमा आठ वटा नीति तथा कार्यक्रम आएका बताउँदै उहाँले त्यसमा निरन्तरता र स्थायित्व जरुरी रहेको स्पष्ट पार्नुभयो ।

उहाँले नीति तथा कार्यक्रममा राष्ट्रिय विभूति, पूर्वराष्ट्राध्यक्ष तथा आन्दोलनका सहिदहरूको घर संरक्षण गर्ने र यसलाई प्रदेश सरकारको मातहतमा ल्याउने कुराको विरोध गर्न समेत आवश्यक नभएको उहाँले बताउनुभयो । इतिहासको संरक्षण गर्दै भावी पुस्तालाई जानकारी दिन पनि ती संरचनाको संरक्षण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।