जनता टाइम्स

१२ जेष्ठ २०८२, सोमबार ०९:०२

राजावादीको आन्दोलनलाई एमालेको ‘काउन्टर’ : जेठ १५ मा काठमाडौं कब्जा गर्ने यस्तो छ तयारी


काठमाडौं, जेठ १२ । गणतन्त्र दिवसको दिन राजावादीले राजधानी कब्जा गर्ने बताइरहँदा सत्तारुढ नेकपा एमालेले जेठ १५ गते नै काठमाडौंमा बिसाल जनसहभागितामा जनप्रदर्शनको तयारी तीब्र पारेको छ । एमालेले जनप्रदर्शनका लागि जनसंगठन पदाधिकारीको बैठक राखेको छ ।

पार्टी मुख्यालयमा जारी बैठकमा प्रदर्शनका दिन बढीभन्दा बढी सहभागिता जुटाउने रणनीतिमा छलफल हुने बताइएको छ । एमालेको हिजोको सचिवालय बैठकले गणतन्त्र दिवसलाई देशभर उत्सवका रूपमा मनाउने निर्णय गरेको थियो ।

जेठ १५ गते राजावादीको आन्दोलनलाई समेत ध्यान दिएर एमालेले ‘काउन्टर’ प्रदर्शनको तयारी थालेको हो । एमाले मुख्यालय च्यासलमा जारी बैठकमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव लेखराज भट्ट, योगेश भट्टराई, पद्मा अर्याललगायतका नेताहरु उपस्थित हुनुहुन्छ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादीको आन्दोलन निस्तेज पार्न जेठ १५ गते बिहान ११ देखि अपरान्ह २ बजेसम्म काठमाडौंलाई नियन्त्रणमा लिन पार्टी पंक्तिलाई निर्देशन दिनुभएको थियो । एमालेले गणतन्त्र दिवसको उत्सवमा सक्रिय सहभागिताका लागि नागरिकमा अपिल पनि गरेको छ ।