जनता टाइम्स

१२ जेष्ठ २०८२, सोमबार ०९:१३

बागमती प्रदेश खेलकुद परिषदद्वारा २ करोड १६ लाखको सामग्री सोझै खरिद


हेटौंडा, १२ जेठ । बागमती प्रदेशको प्रदेश खेलकुद परिषद् हेटौंडाले २ करोड १६ लाखको सामान सोझै खरिद गरेको पाइएको छ । बितेको आर्थिक वर्षमा खेलकुद परिषद्ले ठूलो रकमलाई ४४ वटा टुक्रा बनाएर विभिन्न फर्महरुलाई वितरणमुखी ढंगले सोझै खरिद गरेको हो ।

सार्वजनिक खरिद ऐन अनुसार २० लाख रुपैयाँभन्दा माथिको रकममा काम गर्दा ठेक्कामार्फत गराउनुपर्ने कानूनी व्यवस्था रहेको भएपनि २ करोडभन्दा धेरै रकमको काम सोझै खरिद गरेकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । खेलकुद परिषद्ले ४४ वटा र्फमबाट अन्तर प्रदेश राष्ट्रिय खेलकुदको उद्घाटन र समापनका लागि भनेर खेल स्थल निर्माण, खेल सामाग्री खरिद, साउण्ड सिस्टम, झण्डा, खादा, छपाइसम्बन्धी काम लगायतका क्षेत्रमा सोझै खरिद गरेकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको हो ।

यसैगरी, महालेखाले यस परिषद्ले बितेको आर्थिक वर्षमा विभिन्न संघसंस्थालाई दिएको अनुदानका विषयमा पनि प्रश्न उठाएको छ । अनुदान रकम दिएपनि काम भए नभएको र अनुदानको सदुपयोग भए नभएको विषयमा महालेखाले प्रश्न गरको हो ।