हेटौँडा, १४ जेठ । नेपाल पत्रकार महासंघ वाग्मती प्रदेश समितिको दुई दिने प्रादेशिक भेला बुधबार मकवानपुरको हेटौँडामा सम्पन्न भएको छ
भेलाले पछिल्लो समय पत्रकारिता क्षेत्र आर्थिक, भौतिक र नैतिक रूपमा निक्कै संकटमा परेको भन्दै चिन्ता जाहेर गरेको छ । श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन हुन नसक्नु, श्रमजीवी पत्रकारहरूले न्यूनतम पारिश्रमिक पाउन नसक्नु, आर्थिक व्यवस्थापन गर्न नसक्दा सञ्चारमाध्यमहरू बन्द हुने अवस्थामा पुग्नु, पत्रकारहरूको जीवनको सुरक्षा नहुनुले पछिल्लो समय पत्रकारिता पेसा नै सङ्कट उन्मुख बन्दै गएको सङ्केत गरेको भेलाले निष्कर्ष निकालेको छ । पत्रकार माथिको असुरक्षा दिन दिनै बढ्दै गएको भेलाका सहभागीले बताउनुभएको छ ।
पेसालाई सुरक्षित, मर्यादित बनाउन र लोकतन्त्रको खम्बाका रूपमा सञ्चार क्षेत्रलाई विकास गर्न चुनौतीहरू रहेका भेलाको निष्कर्ष छ । स्वरोजगारमूलक सञ्चारमाध्यमको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि तीनै तहका सरकारको ध्यान पुग्न नसकेको ठहर भेलाले गरेको छ । सञ्चारमैत्री कानुन, सञ्चारसँग सम्बन्धित नीति निर्माण तथा बजेट विनियोजनमा तीनै तहका सरकारहरूले चासो नदिएको निष्कर्ष भेलाको छ ।
यस्तो सन्दर्भमा नेपाल पत्रकार महासंघ वाग्मती प्रदेश समितिले आयोजना गरेको वाग्मती प्रदेशका १३ जिल्ला अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा पदाधिकारी, सदस्यहरू, वाग्मती प्रदेश समितिका पदाधिकारी, सदस्यहरू, प्रदेश स्तरका पत्रकारका पेसागत संगठनका प्रमुख एवम् प्रतिनिधिहरू, नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू समेतको उपस्थितिमा भएको भेलाले छलफल गरी उठान गरेका विषयहरूलाई समेटेर १३ बुँदे हेटौँडा घोषणापत्र जारी गरिएको छ । यस्ता छन् १३ बुँदे घोषणा :
१। संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्दै दिगो विकास, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार, सामाजिक न्याय, समावेशी सिद्धान्त, समानता र लोकतन्त्रको पक्षमा क्रियाशील रहन यो भेला प्रतिबद्ध छ ।
२। पत्रकारको जीवन रक्षा, स्वतन्त्र रूपले काम गर्ने वातावरण निर्माण र आर्थिक सुरक्षाको ग्यारेण्टी तथा सञ्चारमाध्यमहरूको सुरक्षाका लागि सरोकारवालासँग यो भेला जोडदार माग गर्दछ ।
३।तीन वटै तहका सरकारलाई सञ्चार क्षेत्रको दिगो विकास र प्रवर्द्धन गर्न सञ्चारमैत्री नीति निर्माण गरी सञ्चार क्षेत्रको विकास, संवर्द्धन र प्रवर्धन गर्न यो भेला जोडदार माग गर्दछ ।
४।श्रमजीवी पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा समेट्न, स्वास्थ्य बिमा र दुर्घटना बिमामा समेट्ने लागायताका सामाजिक सुरक्षाका कार्यक्रममा समेट्न यो भेला सम्बद्ध पक्षसँग जोडदार माग गर्दछ ।
५। स्वरोजगारमूलक मिडियालाई संरक्षण गर्न सम्बन्धित सरकारले आफ्नो कार्य क्षेत्रमा दर्ता र सञ्चालनमा रहेका सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन अनिवार्य रूपमा उपलब्ध गराउन र समानुपातिक रूपमा वितरण गर्ने व्यवस्था मिलाउन यो भेला जोडदार माग गर्दछ ।
६। बागमती प्रदेशका पत्रकारहरूलाई नेपाल पत्रकार महासंघको सिफारिसमा प्रदेश मातहतका सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्थापन गर्न यो भेला माग गर्दछ ।
७। सञ्चारकर्मी र सञ्चारमाध्यमको क्षमता विकास, भौतिक पूर्वाधार विकास लगायतका क्षेत्रमा सरकारको तर्फबाट नीति, कार्यक्रम र बजेटमा व्यवस्थापन गर्न यो भेला माग गर्दछ ।
८। बागमती प्रदेश स्तरमा प्रशिक्षण केन्द्र र जिल्ला स्तरमा सूचना केन्द्र, पुस्तकालय स्थापना गरी सञ्चार क्षेत्रको प्रवर्द्धनमा काम गर्न यो भेला जोडदार माग गर्दछ ।
९। सञ्चारमाध्यमहरूलाई उद्योगका रूपमा मान्यता दिन, अनुदान र सहुलियत ऋण उपलब्ध गराउन, सबै खाले सञ्चार माध्यमलाई वर्गीकरण गरी लोककल्याणकारी सुविधा उपलब्ध गराउन, पत्रकार र सञ्चारमाध्यमका उपकरण खरिदमा अनुदानको व्यवस्था मिलाउन यो भेला सरकारसँग माग गर्दछ ।
१०। बागमती प्रदेश सञ्चार रजिष्टार कार्यालयमा दर्ता नभए पनि नेपाल सरकारका अन्य निकायमा बागमती प्रदेशभित्र कार्यक्षेत्र हुने गरी दर्ता गरिएका सञ्चार माध्यमलाई सूचीकरण गरी सेवा सुविधा उपलब्ध गराउन यो भेला माग गर्दछ ।
११। महिला र अपाङ्गता भएका व्यक्तिहरूले सञ्चालन गरेका स्वरोजगारमूलक सञ्चार माध्यमहरूलाई र महिला र अपाङ्गता भएका सञ्चार कर्मीहरूलाई सुरक्षा, संरक्षण सहितको विशेष सुविधा र अनुदानको व्यवस्था गर्न यो भेला माग गर्दछ ।
१२। विपद् र द्वन्द्वको समयमा जोखिमपूर्ण क्षेत्रमा पत्रकारिता गर्ने पत्रकारहरूलाई सुरक्षा सहितको प्रोत्साहनको व्यवस्था गर्न, खोजमूलक पत्रकारिता गर्ने पत्रकारहरूलाई लेखन वृत्तिको व्यवस्था गर्न यो भेला सरकारसँग माग गर्दछ ।
१३। मकवानपुरका ऐतिहासिक पर्यटकीय क्षेत्र मकवानपुर गढी, पर्यटकीय क्षेत्र सहिद स्मारक लगायत वाग्मती प्रदेश भित्रका धार्मिक, ऐतिहासिक, सांस्कृतिक पर्यटकीय गन्तव्यका क्षेत्रहरूको संरक्षण र प्रवर्द्धन गर्न यो भेला माग गर्दछ ।
प्रतिक्रिया दिनुहोस्