जनता टाइम्स

१३ जेष्ठ २०८२, मंगलवार २०:०८

प्रधानमन्त्री ओलीबाट यस वर्षको मनसुनी अवस्थाबारे जानकारी, मनसुन यसै साता नेपाल भित्रिने


काठमाडौं, १३ जेठ । मंगलवार बबरमहलस्थित विभागको कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीले यस वर्षको मनसुनी अवस्थाबारे विज्ञहरुसँग जानकारी लिनुभएको हो । यस वर्ष जेठ १८ गतेदेखि असोज १४ सम्म मनसुन ऋतुको वर्षाको आँकलन गरिएको छ । यस मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान छ ।

प्रधानमन्त्री ओलीसँगै उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पनि विभागमा गएर मौसम पूर्वानुमानबारे जानकारी लिनुभएको छ । यता यस वर्षको मनसुन यसै साताको अन्त्यमा नेपाल प्रवेश गर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मंगलबार भारत आसामका केही भू–भागहरू तथा भुटान र बंगलादेशका पूर्व भूभागसम्म मनसुन आइसकेकाले यही साताको अन्तिमतिर नेपाल प्रवेश गर्ने पूर्वानुमान गरिएको हो ।

‘नेपालको पूर्वी भूभागबाट मनसुन आगमन हुने सरदर मिति जुन १३ तारिख हो तर फेबरेबल कन्डिसन देखिएकाले यस वर्षको मनसुन आगमन सरदर भन्दा छिटो हुने देखिन्छ,’ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भन्नुभयो ‘यसै साताको अन्त्यसम्ममा नेपालको पूर्वी भूभागबाट मनसुन प्रवेश हुने सम्भावना छ ।’ कहिलेकाहिँ मनसुनी वायु बग्दै नेपालतिर आउनेक्रममा बीच बाटोमा केही दिन रोकिने गरे पनि यस वर्ष त्यस्तो नदेखिएकाले फेबरेबल कन्डिसन’ भनिएको उहाँको भनाइ छ ।