जनता टाइम्स

१४ जेष्ठ २०८२, बुधबार १८:३४

यी हुन राजावादी आन्दोलन निस्तेज पार्दै जेठ १५ मा काठमाडौंमा जनप्रदर्शनका लागि जिम्मेवारी तोकिएका एमाले नेता


काठमाडौं, जेठ १४ । जेठ १५ अर्थात गणतन्त्र दिवस । यो दिवसलाई यस बर्षदेखि उत्सवका रुपमा मनाउने निर्णयसहित सत्तारुढ नेकपा एमालेले संघीय राजधानी काठमाडौंमा उत्सव मनाउन लागेको छ ।

राप्रपासहितका पूर्वराजावादी दलले राजतन्त्र फर्काउन गणतन्त्र दिवस नै रोजेर भाँडभैलो मच्चाउन थालेपछि जनताले जितेको दिनलाई उत्सवका रुपमा मनाउने निर्णयमा एमाले पुगेको हो । एमाले महासचिव शंकर पोखरेलका अनुसार यो कसैको बिरोधमा होइन, जनताले जितेको दिनमा खुसियाली साटााट हो ।

एमालेले उत्सवमा जनताको ब्यापक सहभागिता गराउन बरिष्ठ उपाध्यक्षसहित अधिकांश पदाधिकारीलाई जिम्मेवारी तोकेको छ । जेठ १५ गते आयोजना गर्ने विशाल जनप्रदर्शनलाई सफल पार्न नेताहरुलाई विभिन्न जिम्मेवारी दिइएको हो । महासचिव पोखरेलका अनुसार शक्ति परिचालन गर्नका लागि नेताहरुको जिम्मेवारी बाँडफाँड गरिएको हो ।

गणतन्त्र दिवसलाई आम जनताले सम्झने गरी मनाउन र राजावादीसहितका अराजकतावादीहरुले फैलाएका भ्रमहरु चिर्नका लागि जनप्रदर्शन गर्ने निर्णय लिइएको महासचिव पोखरेलले जनताटाइम्स डटकमलाई बताउनु भयो ।

एमालेले जनप्रदर्शनको तयारीका लागि सवै बिभाग, जनसंगठनका नेता कार्यकर्तालाई अनिवार्य सहभागी हुन निर्देशन पिनि दिएको छ । यस्तै काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका वडा तहसम्मका नेता कार्यकर्तालाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

महासचिव पोखरेलका अनुसार काठमाडौं जिल्लाबाट व्यापक मात्र जनता परिचलान गर्नका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । सचिव गोकर्ण विष्टलाई यसैगरी जनसंगठनहरुको संयोजन गर्ने जिम्मेवारी दिइएको छ ।

यसैगरी सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको समन्वयको जिम्मा सचिव लेखराज भट्टलाई खटाइएको छ भने बागमती प्रदेशमा उपमहासचिव प्रदीप ज्ञवाली, लुम्बिनी र गण्डकी प्रदेशका लागि सचिव पद्मा अर्याल र कोशी प्रदेशका लागि उपाध्यक्ष रामबहादुर थापा, बादललाई जिम्मेवारी दिइएको छ ।

यस्तै मधेस प्रदेशका लागि उपाध्यक्ष युवराज ज्ञवालीलाई जिम्मेवारी दिएर खटाइएको छ । उल्लेखित सातवटै प्रदेशका कमाण्डरले उपत्यकामा रहेका सो प्रदेशका नेतादेखि कार्यकर्तासम्म उतार्ने गरी काम अघि बढाउनु भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी उपत्यकाका जनप्रदर्शनमा ठूलो संख्यामा सहभागी गराउने ललितपुर र भक्तपुरको समन्वय गर्न उपाध्यक्षहरु क्रमशः अष्टलक्ष्मी शाक्य र गुरु बराललाई जिम्मेवारी तोकिएको छ । उपत्यकाबाहेक बागमती प्रदेशका १० वटा जिल्लाको समन्वयको जिम्मेवारी उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई दिइएको छ ।

यसैगरी स्वयंसेवक परिचालनका लागि उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई जिम्मेवारी दिइएको छ । यस्तै उपत्यका विशेषको संयोजन सचिव योगेश भट्टराई र पार्टी केन्द्रीय विभागको संयोजनको जिम्मेवारी सचिव छविलाल विश्कर्मालाई दिइएको छ ।

एमालेले गणतन्त्र दिवशका दिन जेष्ठ १५ गते बिहीवार विहान ११ बजे भृकुटीमण्डपमा उत्सव मनाउन लागेको छ । सो उत्सवमा साँस्कृतिक झाँकी, जुलुस र आफ्नो कमिटीको पहिचानसहित उपस्थित हुन निर्देशित गरिएको छ । जनताको शक्ति सालिन रुपमा प्रस्तुत गरेर राजावादीलाई जवाफ दिन एमालेले सो कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।