काठमाडौं, १९ जेठ । प्रधानमन्त्री, नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले अनावश्यक विषय उठाएर गृह मन्त्रीको राजीनामा मागी प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्र विपरीतको काम भएको बताउनुभएको छ ।
सोमबार नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मङ्गलबारदेखि संसद्का नियमित गतिविधि सञ्चालन हुने बताउनुभयो । ‘भोलिदेखि नियमित संसद् चलाऊँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजीसँग कुरा गर्न खोजेँ तर उहाँ जानीजानी सम्पर्कमा आउनुभएन, वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरू हुनुहुन्छ होला, यस्तो व्यवहार सधैँ चल्दैन, संसद् यस्ता नचाहिने कुरामा सधैँ बन्द हुँदैन’, ओलीले भन्नुभयो ।
केही विषय नपाएर गृह मन्त्रीको राजीनामा मागिएको बताउँदै उहाँले भिजिट भिसा प्रकरणमा गृह मन्त्रीमाथि कुनै उजुरी वा छानबिन नै नचलेको प्रष्ट पार्नुभयो । ‘त्यसकारण यस्ता कुरामा संसद् अवरुद्ध हुँदैन, माननीयज्यूहरू तयार भएर बस्नुस्,भोलिदेखि सदन चल्छ’, उहाँले भन्नुभयो ।
सडकमा कुनै समूहले केही माग लिएर बस्दा पनि कुदेर गएर समर्थन गर्ने र सदन पनि अवरोध गर्ने कामले प्रतिगमनलाई सहयोग पुग्ने र लोकतन्त्रलाई असहयोग हुने ओलीको भनाइ छ । खास परिस्थितिबाट देश अगाडि बढिरहेको गम्भीर मोडमा सरकारको बजेट प्रस्तुत भएकाले यसका पक्षमा तर्कपूर्ण रूपमा आफ्ना कुरा राख्न उहाँले सांसदहरूलाई आग्रह गर्नुभयो । ओलीले मन्त्रीहरूलाई संसदीय गतिविधिलाई महत्त्व दिन निर्देशन दिनुभयो । अर्थतन्त्र ओरालो लागेको तथा अराजकता र असन्तुष्टवादीहरुले विरोध गरिरहेका बेला बेग्लै चुनौतीको अवस्थामा बजेट आएको उल्लेख गर्दै उहाँले यसलाई प्रभावकारी कार्यान्वयनमा लैजाने कुरामा लाग्नु पर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्