जनता टाइम्स

२० कार्तिक २०७६, बुधबार १९:५७

मेलम्ची सम्पन्न गर्न सवै एकजुट हुनुपर्छ : खानेपानीमन्त्री मगर


सिन्धुपाल्चोक, कात्तिक २० । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न र मिति तोक्न एकजुट भएर लागिरहेको बताउनुभएको छ । मेलम्ची खानेपानी आयोजनाका लागि आवश्यक पूर्वाधार र आगामी कार्ययोजना बनाइसकेकाले मन्त्रालय, आयोजनाको टिम एकजुट भएर लागिरहेको उहाँले दाबी गर्नुभयो ।

आयोजनाको समय थपिँदै जानुले राम्रो सन्देश नदिएको भन्दै मन्त्री मगरले सिएमसीपछिको नयाँ ठेकेदार कम्पनीले उत्साहजनकरुपले काम गरेको बताउनुभयो । मन्त्रालयको विशेष टोलीले यसबारे गहिरो रुपमा केलाएर कामलाई अगाडि बढाइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीयको रोयल्टी निश्चित गर्नका लागि मन्त्रालयस्तरको समस्या समाधान समिति बनाइएको छ । मेलम्ची राजधानी नपुग्दा वर्षांैको प्यास मेटिन नपाएको भन्दै काम पूरा गरेर छाड्ने प्रतिबद्धता जनाउनुभयो ।

 

 

 

स्थानीय कामदारको पारिश्रमिकबारे मन्त्रालयको सहसचिवको एउटा समिति बनिसकेकाले आवश्यक छानबिन थालिसकेको उहाँले प्रष्ट्याउनुभयो । मन्त्रालयको टोली, आयोजनाका प्रतिनिधि, जनप्रतिनिधिसगै हेलम्बु गाउपालिकाको अम्बाथानस्थित खानेपानीको मुहानस्थल, हेर्डबक्सस्थल निरीक्षण गर्दै मन्त्री मगरले चाँडै आयोजनासक्ने प्रतिबद्धता गर्नुभयो ।