काठमाडौं, जेठ २५। नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनको उदघाटन आज दिउँसो प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय परिसरमा गर्नुहुनेछ ।
महाधिवेशनले संगठनको नीति तथा कार्यक्रम तय गर्नुका साथै नयाँ नेतृत्व समेत चयन गर्ने छ । नेतृत्वमा पहिलोपटक ३२ वर्षे उमेर हद लागू गरिएको छ । उमेर हद लागू हुने भएपछि नेतृत्वको दाबेदार मानिएका १५ जना पदाधिकारी प्रतिस्पर्धाबाट अलग हुनेछन् भने नेतृत्व गर्ने अवसर सचिव तहमा आउने छ । ११ जेठमा बसेको एमाले सचिवालय बैठकले माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको जस्तै अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरेको थियो ।
यो निर्णयसँगै अध्यक्षका दाबेदार महासचिव नरेश शाही, उपाध्यक्षहरु रामचन्द्र घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट, धर्म गिरी लगायत प्रतिस्पर्धाबाट अलग हुनेछन् । यससँगै सचिव पदमा रहेकाहरु दीपक धामी, सुजन कडरिया, अञ्जना शिवाकोटी, आरती भट्टराई, प्रकाश पौडेल लगायत दाबेदार हुनुहुन्छ ।
उनीहरु सबैले अध्यक्षमा प्रतिस्पर्धा गर्ने भनेर प्रचार गरिरहेका छन् । अध्यक्ष केपी शर्मा ओलीले दाबेदारको संख्या घटाउन र सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएकाले जनसंगठन समन्वय संयन्त्रले सहमतिको प्रयास जारी राखेको छ । तर आइतबार महाधिवेशन उद्घाटनको दिनसम्म सहमति नजुटेको तर सहमतिको प्रयास जारी रहेको एक पदाधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्