काठमाडौं, २६ जेठ । केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजबाट खुल्नेमा सभामुखले विश्वास व्यक्त गर्नुभएको छ ।
आज दिउँसो २ बजेबाट सञ्चालनमा आउने बैठक नियमित रूपमा अघि बढ्ने सभामुख देवराज घिमिरेले विश्वास व्यक्त गर्नुभएको हो । उहाँले संसद् सञ्चालनमा आउनेमा आफू आशावादी रहेको बताउनुभयो । ‘प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुनेछ, मलाई विश्वास छ–बैठक नियमित रूपमा अघि बढ्नेछ’, उहाँले भन्नुभयो ।
गणतन्त्र दिवसको अवसरमा राससद्वारा आयोजित ‘पर्वतीय पर्यटन : हाम्रो सान, हाम्रो पहिचान’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले संसद् अवरुद्ध हुनु पर्ने कुनै कारण नै नभएको बताउनुभयो । ‘सदन अवरुद्ध हुनुपर्ने नै होइन, तर भयो,’ उहाँले भन्नुभयो ।
बजेटसम्बन्धी महत्त्वपूर्ण छलफल अघि बढाउनु पर्ने भन्दै उहाँले सांसदहरूको सहभागिता र कार्यसूचीलाई व्यवस्थित गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । धेरै समय गएकाले यस अघिका नोक्सानीलाई पुरा गर्ने गरी अबको कार्यसूची बनाइने उहाँले जानकारी दिनुभयो । ‘विधिअनुसार बजेटमाथिको छलफल समयमै सम्पन्न गरिनेछ’, उहाँले भन्नुभयो ।
प्रतिनिधिसभा लामो समयदेखि प्रमुख प्रतिपक्षको अवरोधका कारण अवरुद्ध हुँदै आएको छ । संसद् सञ्चालनमा सभामुखको आशावादले राजनीतिक संवाद र सहमतिको सङ्केत पनि दिएको छ ।
प्रतिक्रिया दिनुहोस्