काठमाडौं, २६ जेठ। प्रतिनिधिसभाको बैठक आज पनि विपक्षी दलहरूको अवरोधका कारण नियमित रूपमा सञ्चालन हुन सकेन।
गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै विपक्षी दलहरूले जेठ १३ गतेदेखि सदन अवरुद्ध गर्दै आएका छन्।
आजको बैठक सुरु हुने बित्तिकै सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न समय दिने जानकारी गराउनुभएको थियो। तर, विपक्षी सांसदहरूले टेबुल ठोक्दै होहल्ला गर्न थालेपछि बैठक केही बेरमै स्थगित गरिएको हो।
सभामुख घिमिरेले सदनलाई नियमित कार्यसूचीअनुसार अघि बढाउने प्रयास स्वरूप दलहरूबिच सहमति खोज्न संवाद भइरहेकाले बैठक आधा घण्टाका लागि स्थगित गरिएको जानकारी दिनुभयो।
संसद् अवरोधका कारण कानुन निर्माण, बजेट प्रस्तुतिसँग सम्बन्धित प्रक्रिया र अन्य नीति कार्यक्रमसम्बन्धी छलफलमा समेत असर परेको छ। प्रमुख दलहरूबिच वार्ता चलिरहे पनि सहमति जुट्न सकेको छैन।
विपक्षी दलहरू गृहमन्त्री लेखकको राजीनामा, भिजिट भिसा प्रकरणमा दोषीको छानबिन र कारबाहीको माग राखेका छन्। सरकार पक्षले भने अनुसन्धान प्रक्रिया अघि बढिसकेको भन्दै संसद्को नियमित सञ्चालनमा सहयोग गर्न आग्रह गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्