काठमाडौं, २ असार । प्रतिनिधिसभा सदस्य सूर्य थापाले रास्वपाका सांसदहरूले संसदमा अवरोध गर्ने गरी गरेको नाराबाजीप्रति आपत्ति जनाउनुभएको छ।
सोमबारको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल चलिरहेको बेला उहाँले संसदीय मर्यादा र प्रक्रिया पालना हुनुपर्नेमा जोड दिनुभयो। नेकपा एमालेबाट निर्वाचित सांसद थापाले नियमापत्तिको विषय उठाउँदै संसद् बैठक कसरी चल्नुपर्छ भन्नेबारे सबै सांसद गम्भीर हुन आवश्यक रहेको बताउनुभयो । उहाँले संसद्को वातावरण मर्यादित हुनुपर्ने र सांसदहरूले पनि त्यहीअनुसार आचरण गर्नुपर्ने धारणा राख्नुभयो।
थापाले भन्नुभयो, ‘हामी बजेटमाथिको छलफलमा छौँ, यो बैठक कसरी चल्नुपर्ने हो ? कस्तो वातावरण बनाउनु पर्ने हो ? हामी सबै सदस्यहरूले कस्तो मर्यादा पालना गर्नुपर्ने हो ? कस्तो मर्यादाबिचमा यो बैठक गर्नुपर्ने हो ? म यो ध्यानाकर्षण गराउन चाहन्छु।’
उहाँले कुनै एक सांसदले बोलिरहँदा अन्य सांसदहरूले होहल्ला गर्नु अस्वीकार्य भएको बताउनुभयो। रास्वपाका सांसदहरूले सांसदभित्र नाराबाजी र प्रदर्शन प्रति उहाँको प्रश्न थियो–‘हामी रत्नपार्कमा छौँ कि ? सहिद गेटमा छौँ कि ? कलङ्कीमा छौँ कि ? पोखरा चिप्ले डुङ्गामा छौँ ? मैले बुझ्न पाइनँ, बुझ्न सकिनँ।’
सांसद थापाले रास्वपाका सांसदहरूलाई संसदमा पैँलेटी मारेर होइन, कुर्सीमा बसेर छलफलमा भाग लिन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘माननीय सदस्यहरूका कुर्सी रोइरहेका छन्, कुर्सीले माननीय सदस्यहरूलाई भेट्न पाएका छैनन्।’
सोमबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल भइरहेका बेला रास्वपाका सांसदहरूले रोष्टम अगाडि आएर पैँलेटी मारेर बस्दै नारा जुलुस गरेका थिए। उनीहरूले नाराबाजी र प्रदर्शनमार्फत असहमति जनाएका थिए। सोही प्रसङ्गमा सांसद थापाले नियम र प्रक्रिया अनुसार संसद् चल्नुपर्ने आवश्यकता औँल्याउँदै ती प्रश्नहरू गर्नुभएको हो।
उहाँले सांसदभित्रको आचरणले लोकतान्त्रिक अभ्यासको स्तर झल्काउने भएकाले सांसदहरू जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
प्रतिक्रिया दिनुहोस्