जनता टाइम्स

३ असार २०८२, मंगलवार ०६:०९

ट्रम्पले सबैले तेहरान खाली गर्नु भनेलगत्तै इरानको राजधानी तेहरानमा लगातार विस्फोट


काठमाडौं, असार ३। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैले तुरुन्त तेहरान खाली गर्नु भनेको केही समयपछि इरानको राजधानी तेहरानमा विस्फोटहरू भएका छन् । इजरायली सेनाले इरानले आफ्नोतर्फ मिसाइल प्रक्षेपण गरेको पहिचान गरेपछि यो नयाँ आक्रमण भएको बीबीसीले जनाएको छ ।

इजरायलका रक्षा प्रणालीहरूले यस खतरालाई रोक्ने प्रयास गरिरहेका छन् । इरानी मिडियालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले बताए अनुसार इरानको राजधानी तेहरानमा धेरै विस्फोट र आकासमा मिसाइलहरूको लप्का देखिएको बताएको छ ।

यसैबीच, इरानी मिडियाले इरानको मध्ये भागमा रहेको नातान्जमा वायु रक्षा प्रणाली सक्रिय भएको जानकारी दिएको छ । नातान्ज एक महत्वपूर्ण परमाणु सुविधा रहेको स्थान हो जुन इजरायली आक्रमण सुरु भएदेखि नै इजरायलको आक्रमणको लक्ष्य बनेको छ ।नातान्ज राजधानी तेहरानको करिब २२५ किलोमिटर दक्षिणमा अवस्थित छ ।

यसअघि, इजरायलले सोमबार राति तेहरानको उत्तर-पूर्वी भागका बासिन्दाहरूलाई क्षेत्र खाली गर्न आग्रह गरेको थियो । यसको केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजाल माध्यम ‘ट्रुथ सोसल’मा सबैले तुरुन्त तेहरान खाली गर्नु भनेर पोष्ट गरेका थिए ।