जनता टाइम्स

३ असार २०८२, मंगलवार १०:५२

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध


काठमाडौँ, ३ असार ।  वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध भएको छ ।

यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा पहिरो खस्दा आज बिहानैदेखि कान्ति लोकथप सडक अवरुद्ध भएको छ । यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा तीन ठाउँमा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

भोटेकोशी गाउँपालिका–२ कोदारी, वडा नं ३ लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलाको बाढीले डाइभर्सन नै बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

त्यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बर्लबामा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ भने जुम्लाको सिंजामा पहिरो खस्दा बन्द गराएको जुम्ला–मुगु सडक र धनकुटाको साँगुरीगढी गाउँपालिका–५ को रवि–राके–भेडेटार सडक एकतर्फी खुलाइएको छ ।

अवरुद्ध रहेका सडक खुलाउने प्रयास जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।