जनता टाइम्स

५ असार २०८२, बिहीबार १०:४१

कम्बोडियामा पक्राउ गरी नेपाल ल्याइयो धनराज गुरुङकी पूर्वपत्नी संलग्न मितेरी सहकारी ठगीका मुख्य आरोपी


भण्डारीले मितेरीका तत्कालीन महाप्रबन्धक कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङलाई प्रभावित गरी ०७६ मा सहकारीबाट तीन करोड र त्यसपछि थप १२ करोड ९४ लाख ८९ हजार ३५७ रुपैयाँ लिई ‘क्रिप्टो’मा लगानी गरेको प्रहरीले बताएको छ ।

काठमाडौं, असार ५ । ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीका मुख्य अभियुक्त ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा पक्राउ गरी नेपाल ल्याइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का प्रमुख एआइजी चन्द्रकुवेर खापुङका अनुसार भण्डारीलाई कम्बोडियाबाट बुधवार मध्यराती नेपाल ल्याइएको हो ।

इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिएका मितेरी सहकारीका तात्कालिन अध्यक्ष भण्डारीलाई कम्बोडियन प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको हो । मितेरी सहकारी ठगीको बिषयमा सिआइवीले अनुसन्धान गरिरहेको छ । बुधबार मध्यराति नेपाल ल्याइएका भण्डारीलाई सिआइवीकै हिरासतमा राखिएको छ । सिआइबी प्रमुख खापुङले भण्डारीको बारे डिटेल बुझ्ने काम भइरहेको बताउनु भयो ।

अनुसन्धानमा संलग्न सिआइबी अधिकारीहरुका अनुसार भण्डारीले मितेरीका तत्कालीन महाप्रबन्धक ज्योती गुरुङलाई प्रभावित गरी ०७६ मा सहकारीबाट तीन करोड रुपैयाँ लिएका थिए ।

ज्योती नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङका पूर्वपत्नी हुन । सो सहकारी काण्डकै बिषयमा बिवाद भएपछि उहाँहरुबीच कागजी रुपमा सम्बन्ध बिच्छेद भएको भनिएको छ ।

ज्योतीसँगको डिभोर्सको घटना कृतिम भएको भन्दै धनराजको निकै आलोचना भएको थियो । उहाँमाथि पैसाका लागि यतिसम्मको बदमासी गरेको भन्दै सामाजिक सञ्जालमा र्चाे आलोचना भएको हो ।

 

तीन करोडपछि पनि भण्डारीले सहकारीबाट थप १२ करोड ९४ लाख ८९ हजार ३५७ रुपैयाँ लिएको र उक्त रकम उनले ‘क्रिप्टो’मा लगानी गरेको अनुसन्धानले देखाएको छ । भण्डारीकै योजनामा ज्योतिले सबै हर्कत गरेको प्रहरीको भनाइ छ ।

सिआइबीले घटनामा जोडिएका भण्डारी र गरुङसहित सुजन शाक्य, हितमान थापा र प्रकाश थापाविरुद्ध गत बर्ष अर्थात २०८१ असोज ६ गते पक्राउ पुर्जी जारी गरेको थियो । तर, उनीहरूमध्ये कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रहरीका अनुसार ठगीमा संलग्न सबै अभियुक्त नेपालबाट भागिसकेका छन । कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङकी पूर्वश्रीमती ज्योतिविरुद्ध रेडकर्नर नोटिस नै जारी भएको छ । प्रहरी स्रोतले ज्योती अहिले अमेरिकामा रहेको बताएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै भण्डारीलाई नेपाल प्रहरीले औपचारिक रूपमा पक्राउ गर्नेछ । घटनाको अनुसन्धानका लागि सिआइबीमा बुझाउनेछ । त्यसलगत्तै मितेरी ठगीको अनुसन्धान फाइल पुनः खुल्ने सिआइबीले जनाएको छ ।