जनता टाइम्स

९ असार २०८२, सोमबार १५:११

मन्थली नगरपालिकाले ल्यायो तेस्रो सन्तान जन्माउनेलाई सन्तति प्रोत्साहन कार्यक्रम 


रामेछाप, ९ असार । जनसङ्ख्या बृद्धिदर माइनसमा रहेको रामेछाप जिल्लाको मन्थली नगरपालिकाले तेस्रो सन्तान जन्माउनेलाई सन्तति प्रोत्साहन कार्यक्रम लाएको छ ।

सोमबार सोमबार नगर सभाको १७ औँ अधिवेशनमा नगरपालिका प्रमुख लब श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा छोरी जन्मलाई प्रोत्साहन कार्यक्रमका साथै तेस्रो सन्तानलाई सन्तति प्रोत्साहन कार्यक्रम थप गरिएको जानकारी दिनुभयो ।

मन्थली नगरपालिकाले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषि, शिक्षा, उद्योग, पर्यटनलाई प्राथमिकतामा राखेको छ । उद्योग प्रवर्धनका लागि महिला तथा अपाङ्गता भ्याएकाको नाममा दर्ता भएका व्यवसायलाई ताकिएको व्यवसाय करमा १० प्रतिशत छुट दिने नगरपालिकाले कार्यक्रम ल्याएको छ ।

नगरप्रमुख लब श्रेष्ठले पेस गर्नुभएको नीति तथा कार्यक्रममा न्यून पुँजी भएका व्यवसायीलाई दोहरो करको मारबाट छुट गराउन ५ लाख रुपैँयासम्म पुँजी कायम गरी उद्योग दर्ता गरेका व्यवसायीको उद्योग नवीकरण नगरपालिकाबाटै गरिने व्यवस्था मिलाइएको उल्लेख छ । सामाजिक विकास तर्फ दीर्घ रोगको औषधी खाई रकेका बिरामीलाई घरमा नै औषधी पुर्‍याउने व्यवस्था मिलाउने नीति नगरले लिएको छ । दलित महिला, एकल महिला, ख वर्गका अपाङ्गता भएकाहरू, महिला स्वास्थ्य स्वयंसेवीका तथा ६० वर्ष माथिका दलित परिवारको स्वास्थ्य बिमाको पहिलो वर्षको रकममा ५० प्रतिशत अनुदान नगरपालिकाले दिने भएको छ ।

मन्थली नगर अस्पताललाई अझ सुविधा सम्पन्न बनाउन बजेट विनियोजन गरिएको छ ।

गुणस्तरीय शिक्षाका लागि विज्ञान विषय लिएर ११ र १२ पढ्ने प्रत्येक वडाका एक जना विद्यार्थीलाई निःशुल्क अध्ययन गराउन मन्थली माविलाई दिँदै आएको छात्रवृत्ति अनुदानलाई कायम गरिएको छ । त्यस्तै कृषि र पशुविज्ञान अध्ययन गर्ने १४ वटै वडाका एक एक जना विद्यार्थीलाई रामेछाप पोलिटेक्निकमा छात्रवृत्ति अध्ययनको व्यवस्था मिलाइएको छ ।

पूर्वाधार तर्फ वडाबाट प्रस्ताव भएको १५ लाख माथिको एउटा ठुला आयोजनामा नगरबाट १५ लाख रुपैँया थप गरी वडाको गौरवको योजना सञ्चालन गरिने भएको छ । पाँच वर्षमा सञ्चालन गरिने आयोजनाको आयोजना बैङ्क तयार गरी कार्यान्वयनमा लगिने भएको छ ।

कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरिएको उल्लेख छ । पुशपन्छिमा लगानी, मन्थली नगरपालिकाको सुनौलो बिहानी भन्ने नारा सहित पशुपालन तथा दूध बिक्रीमा प्रोत्साहनको कार्यक्रम ल्याइएको छ ।

मन्थली नगरमा पर्यटन प्रवर्धनको लागि स्थानीय पर्यटन विकासका कार्यक्रमहरू ल्याइएको छ।

नगरपालिकाले आउने आर्थिक वर्षको लागि कूल १ अर्ब ४ करोड ६५ लाख ६४ हजार २०२ रुपैँयाको बजेट ल्याएको छ ।

सोमबार नगर सभाको १७ औँ अधिवेशनमा नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले प्रस्तुत गरेको बजेटमा चालु तर्फ ६८.७५ प्रतिशत र पुँजीगत तर्फ ३१.२५ प्रतिशत बजेट विनियोजन गरिएको उल्लेख छ । कूल बजेट मध्ये सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा २ प्रतिशत, कार्यालय सञ्चालनमा १४.५ प्रतिशत, आर्थिक विकासमा ४ प्रतिशत, सामाजिक विकासमा ४८.५ प्रतिशत र पूर्वाधार विकासमा ३१ प्रतिशत बजेट खर्च हुने भएको छ ।

यस आर्थिक वर्षमा अनुमानित बजेटको ६७.९४ प्रतिशत खर्च भएको छ । वास्तविक निकासा आम्दानी भएको बजेटको भने ७८.३७ प्रतिशत बजेट खर्च भएको छ । यस आर्थिक वर्षमा कुल १ अर्ब करोड ९७ लाख ८१ हजार रुपैँया  अनुमान गरिएको थियो ।