जनता टाइम्स

१४ असार २०८२, शनिबार १४:५८

बोल्दाबोल्दै एकाएक आक्रोशित बने प्रधानमन्त्री ओली


काठमाडौं, असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अंक थपेर बढी विद्यार्थी उत्तीर्ण गराइएको भन्ने सुन्दा अचम्म लागेको भन्दै आक्रोश पोख्नुभएको छ । प्रतिनिधिसभा बैठकमा शनिवार बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको छ ।

‘हिजो एसइईको नतिजा प्रकाशित भएको छ र एसइईको नतिजामा गत वर्षको भन्दा १४ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको भन्दा मात्र होइन, धेरै वर्ष यता एसइईको नतिजामा उल्लेख्य वृद्धि भएको यो एउटा खुसीको अवसर हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यस अवसरमा म एसइई परीक्षामा राम्रो नम्बरका साथ उत्तीर्ण हुने वा उत्तीर्ण हुने सबै विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई भन्न चाहन्छु।’

यो नतिजा आएकामा आफू खुसी भएको र सबै खुसी हुनुपर्ने प्रधानमन्त्री ओलीले बताउनु भयो । ‘तर यस्तो नतिजामा पनि केही मानिसहरूले अंक थपेर पास गराइयो जस्ता हचुवाका भरमा बिना आधार मेहनत गरेर विद्यार्थी पास गरेको कुरालाई अपमान हुने गरी, नयाँ पुस्ताको उत्साहलाई होच्याउने र अपमान गर्ने गरी कुनै कुनै विद्वानले बोलेको सुन्दा मलाई दु;ख पनि लाग्छ, अचम्म पनि लाग्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो।

‘हामी मेहनत गरेर आफ्नो स्तर उठाउन सक्दैनौँ र अंकमा खेलवाड गर्नुपर्छ ?’ भन्दै प्रधानमन्त्री ओलीले आक्रोश पोख्नुभयो । विद्यार्थीले मेहनत गरेर यो नतिजा ल्याएको र शिक्षकले मेहनत गरेर यो अवस्थामा पुर्याएका भन्दै प्रधानमन्त्री ओलीले अपमान नगर्न आग्रह पनि गर्नुभयो ।