जनता टाइम्स

१४ असार २०८२, शनिबार २०:५०

एमाले मन्थली नगर कमिटीको तेस्रो पूर्ण बैठक सम्पन्न, पार्टीको सांगठनिक स्थिति बारे छलफल 


रामेछाप, १४ असार । नेकपा (एमाले) मन्थली नगर कमिटीको तेस्रो पूर्ण बैठक विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

नगर कमिटी अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा तथा पार्टीका पोलिटब्युरो सदस्य एवं जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले पार्टीको सांगठनिक स्थिति, पछिल्ला अभियानहरूको मूल्याङ्कन र आगामी कार्यक्रमको गहन छलफल गरी विभिन्न निर्णय गरेको छ ।

बैठकमा वडा कमिटी अध्यक्षहरूले कार्य प्रगति सम्बन्धी प्रतिवेदन पेस गर्नुभएको थियो । बैठकमा जरा केन्द्रित अभियानको समीक्षा गर्दै यसको उपलब्धि र चुनौतीबारे समग्र रूपमा मूल्याङ्कन गरिएको थियो।

पार्टी सदस्यता नवीकरण आगामी असार मसान्तभित्र सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ । टोल कमिटी तथा वडा जनसंगठनहरूको गठन, पुनर्गठन र विस्तारलाई प्राथमिकता दिइने र नगर जनसंगठनहरूको बैठक तथा बाँकी अधिवेशन पनि समयमै सम्पन्न गर्ने निर्णय बैठकमा भएको छ ।

बैठकमा केन्द्र, प्रदेश तथा नगर तहमा पारित नीति, कार्यक्रम र बजेटबारे विस्तृत छलफल गरिएको थियो । पार्टीका विभिन्न जनसंगठनमा केन्द्रीय तहमा जिम्मेवारी प्राप्त गरेका नेताहरूलाई बैठकले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

यसैबिच मन्थली नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणा गर्दै सबै १४ वटै वडालाई एकै पटक बालमैत्री वडा घोषणा गरेकामा बैठकले नगरपालिकालाई बधाई तथा धन्यवाद ज्ञापन गरेको छ । नगरपालिका बालमैत्री शासन सञ्चालन भएको नगर घोषणाको दिन पार्टी परिचालित हुने र कार्यक्रम सफल बनाउन पार्टीले सक्रिय भूमिका खेल्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य गीता कार्की, वाग्मती प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठ, प्रदेश कमिटी सदस्य एवं मन्थली नगर प्रमुख लव श्रेष्ठ, नगर प्रवक्ता गोपाल श्रेष्ठ, नगर इञ्चार्ज हर्कमाया माझी, जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया, जिल्ला सचिव प्रकाश कार्की, पूर्व प्रदेश कमिटी सदस्य रमेशकुमार बस्नेत, ध्रुवकुमार कार्की, जिल्ला कमिटी सदस्य तथा नगर उप–प्रमुख ईश्वरी बस्नेतलगायत पार्टीका विभिन्न तहका नेताहरूको उपस्थिति रहेको नगर कमिटी सचिव गणेश कार्कीले जानकारी दिनुभयो ।