वीरगन्ज, असार १४ । स्व.मदन कुमार भण्डारीको जन्मदिनको अवसरमा पर्सामा पनि स्वास्थ्य शिविर संचालन गरिएको छ ।
जनताको बहुदलीय जनवाद (जबज) का प्रणेता स्व.भण्डारीको नाममा स्थापित मदन भण्डारी फाउण्डेशन पर्साको आयोजनामा यहाँ पनि शनिबार स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरमा आँखा, दाँत, कान, घाँटी र जनरल फिजिसियनका सेवाहरु प्रदान गरिएको छ ।
शिविरमा करिब हजार जना सर्वसाधारणले सेवा लिएको आयोजकले जनाएको छ । निःशुल्क स्वास्थ्य शिविरमा वीरगन्जमा रहेका निलकण्ठ हस्पिटल, वीरगन्ज आँखा तथा दाँत हस्पिटल र इम्प्याक्ट नेपाल गरी तीनवटा स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु प्रत्यक्ष रुपमा सहभागी भएको फाउण्डेशन पर्साको शिविर संचालन तयारी समिति संयोगक अनवर अलीले बताए ।
शिविरमा निःशुल्क परिक्षणका साथै औषधी समेत निःशुल्क रुपमा वितरण गरिएको संयोजक अलीको भनाइ छ । शिविरमा ४ सय ५३ जनाले आँखा परिक्षण गराएका थिए । ८६ जनाको आँखामा मोतियाविन्दु फेला परेको पाइएको छ ।
उनीहरुलाई आईतबार र सोमबार दुई दिन वीरगन्ज आँखा तथा दाँत हस्पिटलमा निःशुल्क आँखाको अपरेशन गर्ने समय दिइएको पनि संयोजक अलीले बताए । नाँक, कान घाँटी तर्फ पनि १ सय १५ जनाले उपचार गराएका छन् । बाँकी जनरल फिजिसियन तर्फ परीक्षण गराएको संयोजक अलीले जनाउनु भयो ।
शिविरमा जनरल फिजिसियन डा.प्रमोद सर्राफ, आँखाका बरिष्ठ चिकित्सक डा.चन्दन वनर्जी, सहित डा.अजय अस्थाना, डा. राजिव यादव, डा.स्लेश्मा रिजाल र डा.शैलेश कुमार साह लगायत १५ जना स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा प्रदान गरेको आयोजक मदन भण्डारी फाउण्डेशन पर्साका अध्यक्ष नेपालले बताउनु भयो ।
आफूहरुको अपेक्षाभन्दा बढि नै सर्वसाधारणहरु शिविरमा उपस्थिति भएको पनि आयोजकले जनाएको छ । शिविर पर्साको वीरगन्ज–२५ अलौमा संचालन गरिएको हो ।
स्वास्थ्य शिविरमा ९ सय २५ जनाले स्वास्थ्य परिक्षण गराएको मदन भण्डारी फाउण्डेशन मधेश प्रदेशका सहसचिव नवराज शर्माले बताउनु भयो । ‘आफू कार्यक्रमस्थलमा पुग्दा सेवाग्राहीहरुको विवरण संकलनको तथ्याँक प्राप्त भएको उहाँले बताउनु भयो ।
कार्यक्रमस्थलमा मदन भण्डारी फाउण्डेशन मधेश प्रदेश सहसचिव नवराज शर्मा, एमालेका केन्द्रीय सल्लाकार विजय कुमार सरावगी, एमाले सल्लाहकार तथा फाउण्डेशनका पर्सा ईन्चार्ज ठाकुर प्रसाद न्यौपाने, लगायत फाउण्डेशन पर्साका पदाधिकारी तथा सदस्यहरुको सकृय उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्