जनता टाइम्स

१४ असार २०८२, शनिबार १६:५५

ओलीको उद्घोष : कुनै बम-बारुद पड्कँदैन, एमालेमा कुनै समस्या आउँदैन


काठमाडौं, असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेमा कुनै तनाव नआउने उदघोष गर्नुभएको छ ।

मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंमा गरेको जबजका तीन दशक विषय विचार गोष्ठीलाई शनिवार सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले कुनै गोला बारुद नपड्कने र एमाले एकजुट हुने घोषणा गर्नुभएको हो ।

‘मदन भण्डारीको जन्मजयन्तीसँग हामीले राष्ट्रिय वृक्षारोपण कार्यक्रम गर्दै वातावरणमैत्री कार्यक्रम गरेका छौं । तर कतिपयले वृक्षारोपण कार्यक्रम भनेपछि यो कार्यक्रम भाँडिन्छ भनेर पनि लेखे,’ ओलीले भन्नुभयो, ‘एमाले जहाँ छ, एमाले निकटका संगठनको कार्यक्रम भाँडिन्छ ? म आउने र विद्या भण्डारी आउने कसरी भाँडिन्छ ? यस्तो विश्लेषण गर्ने ? कुनै बम बारुद, पड्कँदैन । एमाले एक छ, एकजुट भएर बस्छ । कुनै आश नगरे हुन्छ ।’

प्रधानमन्त्री ओलीले एमाले एकजुट बनेरै अघि जाने भन्दै समस्या आउला कि भनेर चिन्ता लिन नपर्ने बताउनु भयो । उहाँले मदन भण्डारीको विचार देशको मियो बनेको पनि बताउनु भयो ।

विश्वमै वामपन्थी र समाजवादी आन्दोलनमा संकट पैदा हुँदा समेत भण्डारीले नयाँ बाटो लिएको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो । उहाँले मदन भण्डारीलाई आफूहरुले नै महासचिव बनाएको समेत बताउनु भयो ।