जनता टाइम्स

१४ असार २०८२, शनिबार २०:०९

​सुमिरे ट्राभल्स एन्ड टुरले भिजिट भिसामा अरबौं असुल्यो– सासंद रामहरि खतिवडा


काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एन्ड ट्राभल्सले भिजिट भिसाको नाममा १० वर्षदेखि हजारौं मान्छे पठाएर अरबौं ठगेको भन्दै अनुसन्धान गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा शनिबार खतिवडाले पद किनेर सांसद हुनेले नै वर्षौदेखि यस्तो ठगी गरेको आरोप लगाउनुभएको हो । ‘सुमिरे टुर एन्ड ट्राभल कसको हो ? विगत १० वर्षदेखि जापानमा भिजिट भिसाको नाममा हजारौं मान्छे पठाएर अरबौं रुपैयाँ लिएर संसद्‌मा प्रतिनिधित्व गर्ने र सांसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ,’ खतिवडाले भन्नुभयो , ‘तिनै मान्छे यदाकदा संसद्‌मा आएर उफ्रिने काम भएको छ । यसमा निष्पक्ष छानबिन भएर कारबाहीको दायरामा अगाडि बढियोस् भनेर माग गर्न चाहन्छु ।’ खतिवडाले रास्वपाका कार्यवाहक सभापति एवं सांसद डीपी अर्यालप्रति लक्षित गर्दै गम्भीर अनुसन्धानको माग गर्नुभएको छ ।

भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै रास्वपाले जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ ।