काठमाडौं, मंसिर ३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले पार्टीमा पुस्तान्तरण र रूपान्तरण आवश्यक रहेको भन्दै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
पार्टीमा तीन पुस्ताको प्रतिनिधित्व रहेको उल्लेख गर्दै शाहीले सबै पुस्ताको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले युवा पुस्तालाई नेतृत्वमा स्थापित गर्नुपर्नेमा जोड दिँदै समयअनुसार पार्टीमा पुस्तान्तरण हुन नसके राप्रपा नाममा मात्रै सीमित हुन सक्ने धारणा व्यक्त गर्नुभयो । ‘राप्रपामा पुस्तान्तरण हुन सकेन । हामीले पुस्तान्तरण गर्न सकेनौँ भने जनतामा जाँदा एमाले, नेकपा र कांग्रेसका नेताको घरमा गएर एक–दुई सिट माग्नुपर्ने अवस्था आउन सक्छ,’ उहाँले भन्नुभयो ।
शाहीले पार्टीका अग्रज नेताहरूको योगदान र विचारको सम्मान गर्दै उनीहरूको अनुभव, सुझाव र मार्गदर्शनसहित युवा पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्ने बताउनुभयो ।
राप्रपाको महाधिवेशन मंसिरको अन्तिम साता हुँदैछ । महाधिवेशन नजिकिँदै गर्दा शाहीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै पार्टीभित्र नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहस थप चर्चामा आएको छ ।













प्रतिक्रिया दिनुहोस्